बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार कम्पनीका ६ जनाविरुद्ध चार अर्ब रुपैयाँ बिगो जरिवाना माग गर्दै मुद्दा दर्ता

चार कम्पनीका ६ जनाविरुद्ध चार अर्ब रुपैयाँ बिगो जरिवाना माग गर्दै मुद्दा दर्ता

आन्तरिक राजस्व विभागले उपत्यकाका चारवटा कम्पनीका ६ जनाविरुद्ध भन्सार, भ्याट र आयकर छली गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

काठमाडौं- आन्तरिक राजस्व विभागले उपत्यकाका चारवटा कम्पनीका ६ जनाविरुद्ध भन्सार, भ्याट र आयकर छली गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

विभागले बुधबार उच्च अदालत पाटनमा काठमाडौंका हाइटेक इन्टरनेशनल प्रालिका दुई सञ्चालक र ललितपुरको सानेपामा सञ्चालनमा रहेको जेएसएस मोबाइल एन्ड सर्भिसेस प्रालि, श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजका सञ्चालक ४ जनाविरुद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालतमा दर्ता गरेको मुद्दामा ६ जना सञ्चालकबाट तीन अर्ब ८२ करोड रुपैयाँको विगो दाबी र कैद सजाय माग गरिएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौं महानगरपालिका सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाईटेक इन्टरनेशनल प्रालिले भन्सार विन्दुबाट कतिपय सामानहरु लुकाई छिपाई ल्याउने गरेको, कारोबार स्थलबाट केही वस्तुको मात्र आधिकारिक बिल बिजक जारी गरेको, न्यून विजकीकरण गरेको कारोबार लुकाउने गरेको र सरकारलाई तिर्नुपर्ने भ्याट, भन्सार र आयकर छली गरेको पाइएको छ।

उक्त कम्पनीका सञ्चालक दुईजनाविरुद्ध विभागले दुई अर्ब ४२ करोड ९८ लाख ७६ हजार विगो जरिवाना र कैद सजाय माग गर्दैै मुद्दा दायर गरेको हो।

त्यस्तै ललितपुरको सानेपामा सञ्चालनमा रहेको जेएसएस मोवाइल एन्ड सर्भिसेस प्रा.लि, श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजका सञ्चालक ४ जनाले भन्सार नतिरी अवैध रुपमा मेमोरीकार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याइ भ्याट बिल जारी नगरी बिक्री गर्ने गरेको, कारोबार लुकाउने गरेको, सरकारलाई तिर्नुपर्ने भन्सार, भ्याट र आयकर नतिरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार ललितपुरका तीन कम्पनीका चार जनाविरुद्ध पनि एक अर्ब ३९ करोड ७ लाख एक हजार ९७५ रुपैयाँ विगो दाबी सहित कैदको माग गर्दै मुद्दा दायर गरिएको हो ।

ती चारवटै कम्पनीका सञ्चालकविरुद्ध राजस्व चुहावट ऐन २०५२ को दफा २३ (१) दफा २३ (३) तथा २३ (४) बमोजिम विगो रकम सहित कैद जरिवानाको माग गरिएको विभागले जनाएको छ।

प्रकाशित: Jul 15, 2020| 16:46 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्