पोखरा– कास्कीको मादी गाउँपालिका–९ मुग्राबेसीका १०१ वर्षीय भूमिहीन जसबहादुर थापाले जग्गाधनी पुर्जा प्रदान पाएका छन्। उनलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको २ लाख रुपैयाँबाट खरिद गरिएको जग्गाको पुर्जा प्रदान गरिएको हो।
जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पुर्जा प्रदान गरेका हुन्।
आवास निर्माणका लागि जग्गाधनी पुर्जा पाएपछि थापाले साह्रै खुसी लागेको बताए।
थापाले भने, ‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन। ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ। बुढेसकालमा जग्गाको पुर्जा पाउँदा साह्रै खुसी भएको छु।’
थापाले प्राधिकरणबाट प्राप्त गरेको दुई लाख रुपैयाँबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीय
नारायणी अधिकारीको १९० बर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरिद गरका हुन्।
०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरिद गर्न दुई लाख रुपैयाँ दिँदै आएको छ। यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राहीसरह ३ लाख रुपैयाँ पनि पाउँछन्।