काठमाडौं- भक्तपुर नगरपालिकाले गाईजात्रा र घण्टाकर्ण चतुर्दशीमा भीडभाड गर्न नदिने भएको छ।
नगरपालिकाले गाईजात्रा पर्वमा घिन्ताङघिसी नाच नदेखाउने निर्णय गरेको हो। यस्तै गाथामुग पर्वमा गाथामुग बनाएर दहन गर्न नदिने निर्णय भएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्।
गाईजात्रा पर्वका बेला भक्तपुरमा देखाइने विभिन्न नाच पनि प्रदर्शन गर्न नदिइने भएको छ।
दुवै पर्वमा सयौंको संख्यामा सर्वसाधारण एकै ठाउँमा जम्मा हुन्छन्। भेलामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने खतरा रहेको हुँदा चाडपर्वलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरिएको जोशीले बताइन्।
भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार जनप्रतिनिधि, प्रशासन, गुठी संस्थान, पुरोहितसहितको
बैठकले गाईजात्रालाई औपचारिकतामा मात्रै सीमित गर्दै घिन्ताङघिसी नाच देखाउन नदिने निर्णय गरेको हो।
गाईजात्रा भक्तपुरमा ९ दिनसम्म मनाइन्छ। यस वर्ष गाईजात्रा साउन २० गते परेको छ। यसै बेला देखाइने देवी नाच, भैरव नाच, फाकंदली, लुसी नाचलागतयका नाचसमेत प्रदर्शन गर्न नदिइने नगरपालिकाले जनाएको छ।
साउन कृष्ण चतुर्दशीका दिन मनाइने गाथामोग एवं घन्टाकर्ण पर्वमा समेत गाथामोग बनाउन नदिने निर्णय भएको उपप्रमुख जोशीले बताइन्। घण्टाकर्ण चतुर्दशी साउन ४ गते परेको छ।
नर्कट तथा छ्वालीबाट बनाइएका गाथामोग नेवार बस्तीका दोबाटो, तीनदोबाटो र चौबाटोमा दहन गरिन्छ।
