विश्वका धनाढ्यहरुको एक समूहले विश्वभरका सरकारलाई धनीबाट उच्च दरमा कर असुल्न खुलापत्र लेखेकाे छ। उनीहरुले आफूसँग भएको पैसा महामारी नियन्त्रणका प्रयासमा उपयोग गर्न आग्रह गरेका छन्।
विश्वभरका ८० भन्दा धेरै अर्बपतिको समूह ‘मिलियनेयर्स फर ह्युम्यानिटी’ ले खुलापत्रमा भनेको छ, ‘सरकारहरुले पहिलेभन्दा धेरै र स्थायी रुपमा उच्च दरमा कर असुल्नुपर्छ।’
पत्रमा हस्ताक्षर गर्नेमध्ये बेन एन्ड जेरी आइसक्रिम उत्पादन गर्ने कम्पनीका सहसंंस्थापक जेरी ग्रिनफिल्ड, फिल्मका पटकथा लेखक रिचर्ड कर्टिस र फिल्म निर्माता अबिग्याल डिज्नी छन्। त्यस्तै अमेरिकी उद्यमी सिड्नी तोपोल र न्युजिल्यान्डका व्यवसायी स्टिफन टिन्डालले पनि हस्ताक्षर गरेका छन्।
पत्रमा लेखिएको छ, ‘विश्वका करोडौं मानिस जसरी हामीलाई आफ्नो जागिर गुमाउनुपर्ने वा परिवार पाल्नुपर्ने समस्या छैन। त्यसैले हामीमाथि कर लगाइयोस् । यो नै उपयुक्त समय हो र एक मात्र विकल्प पनि।’
पत्रमा उनीहरूले कोभिड– १९ को असर परेको विश्वलाई फेरि उन्नत बनाउन आफूहरूजस्ता अर्बपतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने लेखेका छन्।
उनीहरूले भनेका छन्, ‘हामीले आईसीयूमा भर्ना भएका बिरामीलाई ध्यान दिइरहेका छैनौं। हामी बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स सञ्चालन गरिरहेका छैनौं। न त घर–घरमा खाना पुर्याइरहेका छौं। तर, हामीसँग धेरै पैसा छ। त्यो पैसा जसको अहिले निकै आवश्यकता छ र आउँदा वर्षमा जब यो संकटबाट माथि उठ्न विश्वले प्रयास गरिरहेको हुनेछ, त्यसबेला अझै धेरै आवश्यक हुनेछ।’
यो पत्र जी– २० देशका अर्थमन्त्रीको बैठक हुनुअघि प्रकाशित भएको छ। यो वैश्विक महामारीको आर्थिक असरको सामना गर्नका लागि केही देशले अहिले नै करको दर बढाउने प्रस्ताव गरिसकेका छन्।
बेलायतको इन्स्टिच्युट अफ फिस्कल स्टडिजका अनुसार करको दर बढाउनुपर्ने बाध्यतामा धनी देशमात्र नभई सबै देशहरु परेका छन्।
यसै महिना स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले करको दर बढाउन सक्ने संकेत दिएका थिए।
रुसमा पनि उच्च आय भएकालाई निशाना बनाउने सम्भावना छ। साउदी अरेबियाले महामारीको प्रभाव र तेलको खस्किँदो मूल्यलाई ध्यानमा राखेर बिक्री करको दर बढाइसकेको छ।
‘मिलियनेयर्स फर ह्युम्यानिटी’ समूहको पत्र धेरै समूहबीच सहकार्यकोे परिणाम हो। यसमा अक्सफाम, ट्याक्स जस्टिस यूके र अमेरिकी समूह पेट्रियोटिक मिलियिनेयर्ससमेत सामेल छन्।
