काठमाडौं- जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठसहित चार जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठसहित बाँके, कैलाली र सप्तरीबाट चार जना कर्मचारीलाई एकै दिन घुससहित रंगेहात पक्राउ गरेको हो।
अख्तियारका प्रवत्ता प्रदीपकुमार कोइरालाका अनुसार श्रेष्ठले निर्माणाधिन सिँचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुसवाफत लिएको ९ लाख ३४ हजार रुपैयाँसहित पक्राउ गरेको हो। श्रेष्ठलाई कार्यालयकै निवासबाट नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिए।
यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओलीलाई पनि अख्तियारले ९६ हजार तीन सय घुस रकमसहित नियन्त्रणमा लिएको छ।
ओलीले ठेक्कापट्टाको अनुमति पत्र बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा दिएको हो।
यस्तै, कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशीलाई पनि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले घुस रकम सोमबार नै बरामद गरे पनि जोशी भागेकाले नियन्त्रणमा लिन सकेको थिएन। मंगलबार बिहानै पक्राउ परेको जोशीलाई थप अनुसन्धानको लागि काठमाडौं ल्याइने आयोगले जनाएको छ।
यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय, सप्तरीमा कार्यरत नायव सुब्बा कृष्ण बल्लभ ठाकुरलाई पनि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।
