काठमाडौं- उपत्यकाबाट एक वर्षमा चोरी भएका तीन सय ६८ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्ष ०७६/०७७ मा चोरी भएका ती मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ।
महाशाखाले पछिल्लो अवधिमा २५ वटा मोटरसाइकल फेला पारि मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू फेला पारेको ढकालले बताए।
उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतीनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, कोटेश्वर, गौरीधारा, कुमारीपाटी, गोकर्णेश्वर लगायतका स्थानबाट हराएका मोटरसाइकल फेला पारेको महाशाखाले जनाएको छ।
