विश्व स्वास्थ्य संंगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबाट ‘स्थिति अहिलेको भन्दा अत्यन्तै खराब हुनसक्ने’ चेतावनी दिएको छ।
डब्ल्यूएचओका प्रमुख तेद्रोस अधनोम गेब्रयेसुसले कोरोना भाइरस मानिसको सबैभन्दा ठूलो दुश्मन बनिरहेको अहिलेको अवस्थालाई कतिपय सरकार र मानिसहरुले बेवास्ता गरेको पनि बताएका छन्।
सोमबार जेनेभामा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘निकट भविष्यमा विश्व पूर्ववत् सामान्य अवस्थामा फर्किएला जस्तो लाग्दैन। यदि आधारभूत नियमको पालना गरिएन भने, जाने एउटै बाटो हो– कोरोना महामारी नियन्त्रणमा आउने छैन, स्थिति झन् खराब हुनेछ।’
विश्वका केही नेताहरुले कोरोना भाइरसका संवन्धमा विवादास्पद अभिव्यक्ति दिएकोप्रति उनले आलोचना गरेका छन्।
तेद्रोसले यी नेताहरुले आफ्ना देशमा महमारी नियन्त्रणका लागि तीव्र गतिमा उपयुक्त कदम नचाल्ने हो भने संपूर्ण विश्वमा अझ् ठूलो संकट निम्तिने चेतावनी दिए।
कुनै नेता विशेषको नाम नलिएरै उनले भने, ‘कतिपय देश उल्टो दिशामा गइरहेका छन्। केही देशहरुले भने संंक्रमण रोक्नका लागि उचित कदम उठाएका छन्।’
यद्यपि, उनले बन्दाबन्दीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पारेको प्रभावका कारण सरकारहरुलाई यो महामारीबाट कुशलतापूर्वक पार पाउन गाह्रो रहेको पनि स्वीकार गरे।
डब्ल्यूएचओ प्रमुखले केही देशहरुमा संक्रमण थोरै कम हुँदा वित्तिकै विद्यालय, पसल लगायतका भिडभाड हुने स्थानहरु सञ्चालनमा आएको भन्दै सरकारले जनस्वास्थ्यमा खेलवाड गर्न नहुने बताए।
उनले आपसी दूरी, मास्क लगाउने, हात धुने र कोभिड– १९ को लक्षण देखिएपछि घरमै अलग्गै बस्ने जस्ता नियम कठोरतापूर्वक पालन गर्नका लागि सरकारले व्यापक स्तरमा सन्देश दिनुपर्ने बताए।
डब्ल्यूएचओका आपतकालीन निर्देशक माइक रायनले लकडाउनका कारण ठूलो आर्थिक नोक्सानी भइरहे पनि केही स्थानमा संक्रमण रोक्नका लागि लकडाउन अति आवश्यक भएको बताएका छन्।
रायनले भने, ‘हामी अब भाइरससँगै बाँच्न सिक्नुपर्छ। केही महिनामै प्रभावकारी भ्याक्सिन तयार होला वा कोरोना भाइरस आफैं सकिएला भन्ने अवस्था देखिंदैन।
उनले कोरोना भाइरस संक्रमण भएर निको भइसकेका व्यक्तिहरु फेरि संक्रमित हुनसक्छन् कि सक्दैनन् भन्ने पनि निश्चित नभएको बताए।
सोमबार नै लन्दनको किंग्स कलेजका वैज्ञानिकले जारी गरेको रिपोर्टमा कोरोना संक्रमणमुक्त भएको व्यक्तिको शरीरमा बनेको इम्यूनिटी छोटो अवधिका लागि मात्र रहनसक्ने उल्लेख छ।
उनले विश्वभरका सरकारहरुलाई बलियो रणनीति निर्माण गर्न र नागरिकहरुलाई यसको गम्भीरता बुझेर मार्गनिर्देशन पालना गर्न आग्रह गरे।
डब्ल्यूएचओले पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३० हजार संंक्रमित थपिएको र यो नयाँ रेकर्ड भएको पनि जनाएको छ। नयाँ संक्रमितमध्ये ८० प्रतिशत कुल १० मा मात्र थपिएका हुन् जसमध्ये ५० प्रतिशत अमेरिका र ब्राजिलमा थपिएका छन्।
एपी
