काठमाडौं- स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ। यस्तै, तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन्।
कालीगण्डकी गाउँपालिका–४ मा बिर्खाटार खहरेमा आएको पहिरोमा पुरिएर ६५ वर्षीय इमानसिंह रानाको मृत्यु भएको छ।
गाउँपालिका अध्यक्ष खीमबहादुर थापाका अनुसार पहिरोमा परि प्रेमचन्द्र पाण्डे, जीननसिंह थापा र टीका थापा बेपत्ता छन्।
वीरबहादुर राना र होमनाथ पाण्डे घाइते भएको थापाले जानकारी दिए। मृतक राना तत्कालीन दीर्घा गाविसका अध्यक्ष हुन् भने घाइते पाण्डे गाउँ कार्यपालिकाका सदस्य हुन्।
मंगलबार बिहान स्थानीय एक जनाको घरमा पहिरो जान थालेपछि बचाउन गएका उनीहरुलाई नै पहिरोले बगाएको थापाले बताए।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेको र पहिरो निरन्तर बगिरहेकाले खोजीमा समस्या भएको थापाले जानकारी दिए।
