काठमाडौं– बैतडीमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिसकेका दुई शिक्षकले तलब बुझेका छन्।
बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतन सिंह भण्डारी र जशलिङ्ग प्राविका शिक्षक महानन्द कपाडीले तलब बुझेको खुलेको हो।
जिल्ला शिक्षा अधिकारी स्रोत व्यक्ति समेतको मिलेमतोमा दुवैलाई निलम्बन नगरी विद्यालयबाट पाउने तलब भत्तालगायत सुविधा प्रदान गरिरहेको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
बटैराज प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा शिक्षक भण्डारीले बुझेको ८३ हजार एक सय रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यस्तै कपाडीलाई पनि निलम्बन गर्नुको साटो जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा विद्यालय व्यवस्थापनका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथ समेतको सहमतिमा ८१ हजार ९ सय रुपैयाँ भुक्तानी दिएको खुलेको हो।
तीनै जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
दोगडाकेदार–४ का भण्डारी र ३ का कपाडीविरुद्ध जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०७४ असार १५ गते दुई वर्ष कैद र जनही ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनीहरु ०७५ जेठ १५ गते गणतन्त्र दिवसको दिन जेलमुक्त भएका थिए।
