मंगलबार, भदौ ९, २०८३

बाँच्न कठिन भो, के गरूँ सरकार?

‘चार महिनादेखि रेस्टुरेन्ट बन्द छ। भाडा तिर्न बाँकी ६ लाख पुगिसक्यो। बैंकले किस्ता तिर्न ताकेता गरिरहेको छ, कसरी तिर्ने होला?’
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- कोरोना महामारीले सबैभन्दा चौपट पारेको क्षेत्रमध्ये एउटा हो रेस्टुरेन्ट व्यवसाय। लकडाउन खुकुलो भएर अन्य व्यवसाय छिटफुट चले पनि अधिकांश रेस्टुरेन्ट बन्द छन्।

खुलेका केही रेस्टुरेन्टमा कोरोना संक्रमणको डरले ग्राहक जाँदैनन्। ग्राहक नगएपछि सञ्चालक झिँगा धपाएर बसेका छन्। बैंकको ब्याज र घरभाडा रकम गुडिरहेको ट्याक्सीको मिटर जसरी बढिरहेको छ। तिर्ने स्रोत ठप्प छ, व्यवसायी पुर्पुरोमा हात लगाएर बसिरहेका छन्।

‘चार महिनादेखि घर र जग्गाको भाडा तिरेको छैन, ६ लाख रुपैयाँ पुगिसक्यो’, सिनामंगलमा होटल व्यवसाय गर्दै आएकी राजेश्वरी रावलले भनिन्, ‘व्यवसाय ठप्प छ कसरी तिरौँ? न रातमा निँद पर्छ न दिनमा भोक लाग्छ।’ उनकाे मात्र हाेइन, याे देशभरका तीन हजार पाँच सय रेस्टुरेन्ट एन्ड बार सञ्चालककाे चिन्ता हाे।

०००

रावलले होटलमा खाना-नास्ता खुवाउँथिन्। लजका लागि छुट्टै घर भाडामा लिएकी थिइन्। केही मजदुरलाई रोजगारी दिएकी थिइन्। घरभाडा र परिवार खर्च राम्रैसँग चलेको थियो।

उनले थप लगानी गरेर होटेल व्यवसाय विस्तार गर्ने योजना बनाइन्। फस्टाउँदो व्यवसाय देखेर मेगा बैंकले ऋण पनि पत्यायो। अनि टिनको छानो भएको टहरो भत्काएर दुईतले घर बनाउन थालिन्।

विडम्बना! काम सुरु गरेको दुई हप्ता नबित्दै लकडाउन भयो। घर निर्माण रोकियो। ‘बैंकबाट ऋण निकालेर घर बनाउन चाहिने जति सबै सामग्री जम्मा पारिसकेको थियौं’, राजेश्वरीले भनिन्, ‘एकातर्फ काम रोकियो, अर्कोतर्फ पैसा जाम भयो।’

अहिले उनको घर निर्माण सुरु भएको छ। व्यवसाय कहिले खुल्ने टुंगो छैन। उनी भन्छिन्, 'चार महिनासम्म घरमै थुनिएर बस्दा जति तनाव भोगें त्यो भन्दा बढी चिन्ता भाडा कसरी तिर्ने भन्ने छ।'

लकडाउनकै कारण व्यवसाय डुबेपछि बाँच्नै कठिन हुन थालेको उनी बताउँछिन्। उनी भन्छिन्, 'कतिपयले आत्महत्या गरेको समाचार सुन्दा मनमा नकारात्मक कुरा खेल्छ। तर एक न एक दिन व्यवसाय कसो नचल्ला?'

काठमाडौंको वसन्तपुरमा हेमन्त खनालले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको दुई महिना नबित्दै लकडाउन भयो।

‘चार महिनादेखि रेस्टुरेन्ट बन्द छ। भाडा तिर्न बाँकी ६ लाख पुगिसक्यो। बैंकले किस्ता तिर्न ताकेता गरिरहेको छ, कसरी तिर्ने होला?’ हेमन्तले भने, ‘लकडाउनले गर्दा चौपटै पार्यो। अब कसरी उठ्नु?’

व्यवसाय छाडौं लगानी डुब्ने चिन्ता, निरन्तरता दिऊँ खुल्ने टुंगो छैन। त्यसैले आफू दोधारमा रहेको उनी बताउँछन्। अब सरकारले केही सहयोग नगर्ने हो भने थला पर्ने उनको भनाइ छ।

राजेश्वरी र हेमन्तको माग छ, बन्द अवधिको घरभाडा घरबेटीले नमागून्, राज्यले नै केही राहत उपलव्ध गराओस्। उनीहरुका दुवै माग पूरा हुने अवस्था देखिँदैन। केही घरबेटीले भाडामा आधा छुट दिएका छन्। केहीले पछि कमाएर तिरे हुन्छ भनेका छन् भने प्रायले लकडाउन अवधिको पनि पूरै भाडा मागिरहेका छन्।

सरकारले बैंक तथा वित्तीय संस्थाको किस्ता, ब्याज तिर्ने समय र घरबेटीले भाडा तिर्ने समय केही पर सारिदिए मात्र ठूलो राहत हुने व्यवसायी राजेश्वरी रावल बताउँछिन्।

सहरी क्षेत्रमा राजेश्वरी र हेमन्तजस्ता धेरै व्यवसायी ग्राहक र राहतको पर्खाइमा छन्। सरकार भने उनीहरुको पीडा सम्बोधनतर्फ चासो दिँदैन। राजेश्वरी भन्छिन्, 'सरकारले केही सहुलियत देला भन्ने आसै छैन। त्यसैले देशको अवस्था छिटै सामान्य होस् भनेर प्रार्थना गरिरहेकी छु।'

रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष अरनिकोराज भण्डारीले लकडाउनका कारण व्यवसायी घरभाडा, बैंकको ब्याज र किस्ता तथा मजदुरको तलब दिन नसक्ने अवस्थामा पुगेको बताए।

‘चार महिनादेखि हाम्रो व्यवसाय पूरै ठप्प छ। कामदार भोकभोकै छन्। मन्त्री, सांसद र निजामती कर्मचारी तलब सुविधा लिइरहेका छन्’, भण्डारीले भने, ‘निजी क्षेत्रले मात्र मार खेप्नुपर्ने भन्ने छैन सरकारले पनि खेप्नुपर्यो।’

सरकारी सेवासुविधा रकम कटौती गरेर निजी क्षेत्रका मजदुरलाई राहत तथा सापटी दिनुपर्ने माग भण्डारीको छ। निजी क्षेत्रले तिरेको करबाट नै तलब खानेले यस्तो महामारीको बेला मजदुरको पीडामा मलम लगाउनुपर्ने भनाइ भण्डारीको छ।

सरकारले पर्यटन क्षेत्रका लागि भनेर ल्याएको राहत प्याकेजबाट साना तथा मझौला व्यवसायीले राहत पाउने सम्भावना पनि कम रहेको उनले बताए।

प्रकाशित: Jul 14, 2020| 14:53 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।