सरकारले ६ वटा निजी प्रयोगशालाहरुलाई कोरोना भाइरसको पीसीआर परीक्षणको लागि अनुमति दिएको छ ।
परीक्षणको दायरा बढाउन निजी प्रयोगशालालाई परीक्षणको अनुमति दिएको भनिए पनि हालसम्म कुनै निजी प्रयोगशालाले परीक्षणको लागि स्वाब पाएका छैनन् ।
पछिल्लो समय दैनिक ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको र त्यो सरकारी प्रयोगशालाहरुले धान्न सक्ने भएकाले निजी प्रयोगशालालाई स्वाब नदिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल सरकारी तवरबाट सञ्चालित २५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । सरकारले अझै ८ वटा प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
सरकारले दैनिक १० हजार परीक्षण गर्ने तयारीका साथ निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षणको अनुमति दिएको थियो । सरकारले असार ८ मा निजी ल्याबमा पनि कोरोना परीक्षण गर्न दिने निर्णयसहितको निर्देशिका तयार गरेको थियो ।
उक्त निर्देशिका अनुसार परीक्षणको अनुमति दिइएका ती निजी प्रयोगशाला आफैले नमुना संकलन गर्न पाउँदैनन् । सरकारी प्रयोगशालाले उपलब्ध गराएको नमुनामात्रै परीक्षण गर्न पाउने उल्लेख गरिएको छ । उक्त नमुनाहरु परीक्षण गरेवापत सरकारले निजी प्रयोगशालालाई प्रति नमुना ५ हजार ५०० रुपैयाँ उपलब्ध गराउनेछ ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईवटा निजी प्रयोगशालालाई भने नमुना संकलनको अनुमति दिएको छ, जुन मन्त्रालयले नै तयार गरेको निर्देशिका विपरीत छ ।
दुवै अस्पताललाई त्यहाँ आएका बिरामीहरु, निरोगिताको प्रमाण चाहिने व्यक्तिहरु र स्वेच्छाले कोरोना परीक्षण गराउन चाहनेहरुको परीक्षण गर्न अनुमति दिइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यसअघि यसप्रकारको अनुमति सरकारी अस्पतालहरु वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्रै दिइएको थियो । ती अस्पतालहरुले कुनैपनि व्यक्तिको नमुना परीक्षण गरेबापत ५ हजार ५०० शुल्क लिन पाउने व्यवस्था छ ।
डा. गौतमका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नभ्याएपछि निजीलाई पनि नमुना संकलन र परीक्षणको अनुमति दिइएको हो ।
उपत्यकाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालालाई अस्पताल सहित प्रयोगशाला भएकाले स्वाब संकलनको पनि अनुमति दिइएको मन्त्रालयको भनाइ छ ।
अनुमति दिइएका अन्य ४ वटा (नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल), लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर, बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी) लाई प्रयोगशालामा अस्पताल नभएकाले नमुना संकलनको अनुमति नदिइएको डा. गौतमले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार मन्त्रालय आफैले निर्णय गरेर निजीलाई पनि नमुना संकलन र परीक्षणको लागि अनुमति दिएको हो ।
