विराटनगर– प्रदेश १ बाट सोमबारसम्ममा कुल संक्रमितको ८२.७३ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गत वैशाख ५ गतेदेखि असार २९ गते सोमबारसम्ममा प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३० पुगेको छ । जसमा १ सय १९ महिला र ६ सय ११ पुरुष छन् ।
संक्रमित भएका मध्ये ६ सय ४ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा ८८ महिला र ५ सय १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितहरु वैशाख २६ गतेदेखि डिस्चार्ज हुनेक्रम शुरु भएको थियो । प्रदेश १ मा संक्रमित भएका मध्ये १ सय २० जना उपचाररत छन् । आज संक्रमण देखिएकाहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
सोमबार ६ संक्रमित थपिए, ३३ डिस्चार्ज
प्रदेश १ मा सोमबार ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा आज ३३ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत ३३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका २०, मोरङका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन ।
३२ हजारको कोरोना परीक्षण
प्रदेश १ मा शंकास्पद ३२ हजारको कोरोना परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयले सोमबार सम्म ३२ हजार २ सय ५५ जनाको परीक्षण गरिएको छ ।
कोरोना परीक्षण गरिएका मध्ये ३१ हजार ५ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा सोमबार ७ सय ५४ जनाको स्वाव संकलन गरिएको छ ।
