काठमाडौं- १४ वर्षअघि काठमाडौंको सीतापाइलामा एक दम्पती हत्यामा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही, पिपरियाका जेके भनिने ३४ वर्षीय जयकिशोर साह छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बाँकेको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
साह र बाँकेका प्रताप रानाले २०६३ पुस २० गते सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का नातिकाजी सुवेदी र उनकी पत्नी सानु सुवेदीको हत्या गरेका थिए।
उनीहरू दुवै जना सोही मिलमा काम गर्थे। उनीहरू मिलका मालिकले गाली गरेको बिषयलाई लिएर बदला लिन सुवेदी दम्पती र छोरा विलभमाथि धारिलो हतियार प्रहार गरी उनीहरु भागेका थिए।
विलभ भने बच्न सफल भएका थिए। दुवै जना भारतको लखनउमा दुई वर्ष सँगै बसेको र प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात लिएको खुलेको प्रहरीले जनाएको छ।
