लमजुङ– अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ को दुई घर पहिराले बगाएको छ।
पहिरोले सोमबार बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीय रामचन्द्र पौडेलले बताए।
त्यस्तै, शिरमणि भट्टराई, दिपेश भट्टराई, एकमाया दुरा, र हरिमाया परियारको घर पहिराले पुरेको छ। एक्साभेक्टरले पहिरो हटाउने कार्य गरिरहेको छ। सो वडाका रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ।
सो क्षेत्रका विभिन्न घर तथा बस्तीहरु जोखिममा रहेको र विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। सो क्षेत्रमा प्रहरी र स्थानीय मिलेर स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ।
सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ।-रासस
