काठमाडाैं- लगातारकाे वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोकाे जोखिम बढेको छ।
विशेषगरी प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का नदी र खोलाहरुमा खतराको तहसम्म बाढी आउन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ।
आज (सोमबार) कोसी र नारायणी नदीमा बहाव सतर्कता तह आसपास हुनेछ भने केही सहायक नदीमा खतरासम्म पुग्न सक्नेछ।
कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर, सतर्कता तह नकट्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ।
असार २९ गते कहाँ कहाँ आउन सक्छ बाढी ?
– बबई, पश्चिम राप्तीलगायतमा बहाव बढ्दो हुने तर, सतर्कता तलै हुने। कन्काई, कमला, बागमती नदीमा बहाव सतर्कता आसपास हुने। केही सहायक नदीमा खतरा आसपास हुने।
– प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे र तराईबाट बहने स—साना नदीहरूमा बहाव बढेर सतर्कता आसपास हुने । केहीमा खतरासम्म पुग्न सक्ने ।
असार ३० गते
– कोसी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने । कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने । तर, सतर्कता तहभन्दा तलै हुने ।
– कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने । तर सबैमा सतर्कता आसपास हुने । कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने ।
– प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने ।
