विराटनगर– अविरल वर्षासँगै आएको बाढी बस्तीमा प्रवेश गर्दा विराटनगरका तीनवटा वडा प्रभावित भएका छन् ।
केशलिया खोलामा पानीको वहाव बढेर वस्तीमा प्रवेश गर्दा आईतबार विराटनगरका ६, १२ र १६ नं. वडाका ९० घर प्रभावित भएको मोरङ प्रहरीले जनाएको छ । ९० घरका ४ सय ३२ जनालाई उद्धार गरि स्थानीय विद्यालयमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
केशलिया खोलामा पानीको बहाव बढी भई बस्तीमा पस्दा विराटनगर १२ का ३० घर परिवारका १ सय ५० जना, विराटनगर १६ दरैया बस्तीका ५० घरका २ सय ५०, विराटनगर–६ को सिम्राही टोलका १० घरमा ३२ जना प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोरंगको कानेपोखरी–५ मा चिसाङ खोलाले कटान शुरु गरेपछि ७ घर परिवारका ३२ जनालाई स्थानीय भंसावारी विद्यालयमा सारिएको छ । चिसाङ खोलामा आएको बाढिले कानेपोखरी २ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवको घर बगाएको छ ।
उनीहरुलाई स्थानीय विद्यालयमा सारिएको प्रहरी प्रवक्ता डिएसपी राईले बताए । वर्षा सँगै परेको पानीको कारण पहिरो झर्दा मिक्लाजुङ २ कुवापानीका रणकुमार राईको घर पुरिएको छ । उहाँको घर बस्न नमिल्ने गरि पुरिएको राईले बताए ।
उर्लाबारीमा ३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा डेढ दर्जन घर परिवारको धानीवाली बगाएको छ । प्रहरीका अनुसार भर्खरै रोपेको डेढ दर्जन घरपरिवारको १२ विगाहा खेतमा लगाईएको धानवाली खोलाले बगाएको छ । रंगेली ८ नहर चोकमा चिसाङ खोलामा आएको बाढीका कारण ४० विगाहामा लगाईएको धान खेत डुवाएको छ ।
