काठमाडौं- लागुऔषध मुद्दाका आरोपी छुटाउन प्रहरीलाई घुस दिन खोजेको आरोपमा दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८, सुपौलीका २७ वर्षीय गोविन्द शाह र प्युठान घर भई लमही बस्ने ३० वर्षीय समीर भण्डारी छन्।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक (डीएसपी) सुमित खड्काले ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको मुद्दा मिलाउन भन्दै उनीहरुले प्रहरीलाई घुस दिन खोजेको जानकारी दिए।
शनिबार साँझ वडा प्रहरी कार्यालय, घोराहीका प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै आएर डेढ लाख रुपैयाँ घुस दिने प्रस्ताव गरेको केसीले जानकारी दिए।
उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।
