मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय मिडियाको रिपोर्ट : नेपाल प्रवेश गर्न नपाउँदा पूरै गाउँ बेरोजगार

भारतीय मिडियाको रिपोर्ट : नेपाल प्रवेश गर्न नपाउँदा पूरै गाउँ बेरोजगार

बिहारको पूर्वी चम्पारणस्थित रक्सौलमा एउटा सानो गाउँ छ पन्टोका। यो गाउँ नेपाल–भारतको सीमासँग जोडिएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

बिहार- बिहारको पूर्वी चम्पारणस्थित रक्सौलमा एउटा सानो गाउँ छ पन्टोका। यो गाउँ नेपाल–भारतको सीमासँग जोडिएको छ। नेपालबाट आधा किलोमिटरको दूरीमा यो गाउँ छ।

पन्टोकाका ९० प्रतिशतभन्दा धेरै मानिस कामकाजका लागि नेपालको वीरगंज आउने गर्थे। वीरगंजमा कसैले रिक्सा चलाउँथे भने कसैले अन्य मजदुरी गर्थे। कसैले नेपालमा पसलसमेत गरेका थिए, कसैले घर निर्माणको काम। नेपाल प्रवेश गर्न उनीहरुलाई कुनै पनि रोकतोक थिएन। कहिल्यै पनि नेपाली सीमा क्षेत्रमा उनीहरुलाई कहाँ जान लागिएको भनेरसमेत सोधिँदैनथ्यो।

पन्टोकासँग वीरगंज आसपास क्षेत्रमा रोटीबेटीकै सम्बन्ध थियो। त्यहाँका चेलीहरु बिहे गरेर नेपाल आउने र नेपाली चेलीहरु बिहे गरेर पन्टोका जाने प्रचलन लामो समयदेखि चलिरहेको छ।

वर्षौँदेखि पन्टोकावासीहरुलाई आफूहरु भारतीय हौँ भन्ने कुराको समेत आभाष थिएन। आधा घण्टाको साइकल यात्रामा नेपाल–भारत गर्न पाइन्थ्यो।

तर पछिल्ला केही महिनायता त्यहाँको वातावरण बिग्रिएको छ। अब त्यहाँका स्थानीयहरु पहिले जसरी नेपाल छिर्न पाएका छैनन्। प्रहरीले कसैलाई पनि सीमा क्षेत्रबाट प्रहरीले प्रवेश दिएको छैन।

पछिल्लो एक महिनामा नेपाल प्रवेश गर्न खोज्नेहरुलाई भारतीय प्रहरीले सीमा पारी नै रोकिदिन्छ। नेपालको सीमामा नेपाली प्रहरीले प्रवेश दिँदैन। योबीचमा कतिपटक प्रहरीसँग झडपसमेत भएको छ।

सुरुमा कोरोना भाइरसको महामारीका कारण दुबै देशमा लकडाउन थियो। त्यसैले नेपाल प्रवेश गर्न दिइएको थिएन। तर अहिले दुबै देशमा आन्तरिक रुपमा लकडाउन खुकुलो भइसकेको छ। तै पनि सीमा खोलिएको छैन।

पन्टोकाका स्थानीय भनुसेरा भन्छन्, ‘कमाइ गर्न र खान नेपाल गइन्थ्यो, चार महिनादेखि जान पाइएको छैन। घरमै बसेका छौँ, रक्सौलमा काम गर्नका लागि केही पनि छैन।’

अर्का स्थानीय सरजुराम भन्छन्, ‘नेपालीहरु बिना डर भारत आइरहेका छन् तर हामी जान पाएका छैनौँ। त्यहाँ गए प्रहरीले कुट्छ, सीमामा प्रवेश गर्न दिन्न। तर त्यहाँबाट नेपालीहरु आइरहेका छन्।’

सरजुराम थप्छन्, ‘पन्टोकाका कयौँ व्यक्ति नेपालमा ट्रन्सपोर्टको काम गर्थे। कोही दैनिक ज्यालादारीमा काम गर्थे, कोही रिक्सा चलाउँथे। सबैसँग कुनै न कुनै रोजगारी थियो। कतिपय व्यक्ति उद्योगहरुमा काम गर्थे। लकडाउनपछि सबै बन्द भएको छ। अहिले त दुबै देशबीच विवाद पनि छ, त्यसैले अब कहिले सीमा खुल्छ थाहा छैन।’

नेपालीहरु अब हामीलाई राेजगारी दिँदैनन्

पन्टोकाका बच्चासाले भने, ‘नेपालमा मेरो किराना पसल छ, मन्टोबाट आधा किलोमिटर दूरीमा। तर चार महिनादेखि पसल खोल्न जान पाएको छैन। पसलको धेरै सामान बिग्रिसक्यो होला। यस्तो अवस्थामा पनि हामीलाई त्यहाँ जान दिइएको छैन तर नेपालीहरु आउने र सामान लिएर जाने गरिरहेका छन्।’

बच्चासा थप्छन्, ‘भारत र नेपाल अलग अलग देश हुन् भन्ने मलाई कहिल्यै लागेन। न कहिल्यै चेक जाँच भयो न रोकावट। कुनै कागज पनि चाहिएन, साइकल लियो नेपाल गयो। मेरो जीन्दगीमा पहिलो पटक मैले यस्तो भोगीरहेको छु, सीमा बन्द छ, आउन जान रोक लगाइएको छ।’

सन्तोषी देवी भन्छिन्, ‘यहाँका मान्छे पहिले एकजना पनि गाउँमा हुन्थेनन्, अहिले सबै जना गाउँतिरै घुमेर बसेका छन्।’

दुर्गाप्रसाद कुसहवा भन्छन्, ‘अब नेपालीहरु पनि हामीसँग काम गर्न चाहँदैनन्। किनकी हामी नजाँदा त्यहाँ रोजगारी सुरक्षित भएको छ।’ दुर्गाप्रसाद थप्छन्, ‘बिहारी सबैभन्दा राम्रा कालीगढ हुन्छन्। वीरगंजमा नेपालीहरु हाम्रा सहयोगी हुन्थे। हामी दैनिक ८ सय रुपैयाँ कमाउँथ्यौ, उनीहरु ४ सय पाउँथे। हामी नजाँदा उनीहरुको माग बढेको छ।’

पन्टोकाका रामबाबुको समस्या केही फरक छ। उनको आठ वर्षीय छोरा पछिल्लो ४ महिनादेखि नेपालमै रोकिएका छन्। लैजान पाएका छैननत्। उनी भन्छन्, ‘मेरो नेपालमा नाता सम्बन्ध छ, बच्चा त्यहीँ गएको थियो लकडाउनका कारण उतै रोकियो।’

नेपाल र भारत दुबै देशमा लकडाउन खुकुलो हुँदा पनि सीमा बन्द भएका कारण उनले बच्चा लैजान पाएका छैनन्।

एक पटक बच्चा लिन नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले कुटेर पठायो। रामबाबुका अनुसार नेपालीहरु तरकारी किन्न भारत जान्छन् तर भारतीयहरु नेपाल प्रवेश गर्न पाउँदैनन्।

बिहे गर्न दुलही एक्लै पुगिन्

पन्टोकाका लवकुशको नेपालकी संगीतासँग गत अप्रिल महिनामा बिहे गर्ने तयारी थियो। त्यसलगत्तै लकडाउन भयो र सीमा बन्द भयो। लवकुश भन्छन्, ‘त्यसपछि जुन महिनामा लकडाउन खुल्ला र बिहे गरौँला भनेर मिति तय गरियो।

तर लकडाउन खुलेन। त्यसपछि संगीता एक्लै भागेर रक्सौल पुगिन्। उनको लवकुशसँग बिहे भयो, उनको माइतीपक्षका अरु कोही पनि छोरीको बिहेमा जान पाएनन्।

देवशरणले अन्तिम पटक श्रीमतीको मुख देख्न पाएनन्

पन्टोकाका देवशरणले नेपालबाट बिहे गरेका थिए। पत्नी गर्भवती भएपछि उनले माइतीमा छोडेर आफू पन्टोका गएका थिए। सुत्केरी हुने समयमा देवशरणकी श्रीमतीको शरीरमा रगतको कमी भयो। चिकित्सकहरुले रगत कम भएकाले बच्चा पाउन गाह्रो हुने भन्दै देवशरणलाई खबर गरे। लकडाउनका कारण सीमा बन्द हुँदा देवशरण नेपाल प्रवेश गर्न पाएनन्।

देवशरण भन्छन्, ‘मेरी पत्नी जीवन र मृत्युसँग लडिरहेकी थिइन्। सीमा क्षेत्रमा पुग्दा भारतीय प्रहरीले नै नेपालसँग विवाद चलिरहेको भन्दै नेपाल छिर्न दिएन। उनकी पत्नीले बच्चा त जन्माइन् तर आमा र बच्चा दुबैको मृत्यु भयो।

माइतीले नै दुबैको दाहासंस्कार गरिदिए। देवशरणले अन्तिम पटक पत्नीको अनुहारसमेत देख्न पाएनन्। उनी भन्छन्, ‘मैले नेपाल–भारतबीच यस्तो होला भनेर कहिल्यै सोचेको थिइन्।’

दैनिक भास्करकाे रिपाेर्ट

प्रकाशित: Jul 12, 2020| 14:26 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।