काठमाडौं– बाँसको बिरुवा खरिद गरेको नक्कली बिल बनाएर तीन लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलविरुद्ध मुद्दा दायर भएको छ।
तत्कालीन जिल्ला वन कार्यालयमा कार्यरत रहँदा वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको बिरुवा खरिदमा पटेलले उक्त रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।
पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजार वटा दुई वर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद गर्ने कार्यक्रम नगरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।
नर्सरी व्याड निर्माणको लागि २०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने कार्यादेश अनुसार पटेलले कुनै पनि काम नगरी नर्सरीमा पहिले नै रहेको बाँसको बिरुवालाई देखाएर नक्कली बिल बनाएको खुलेको छ।
पटेलविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
