पोखरा– गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लोपटक तनहुँमा ६, पर्वतमा २, बाग्लुङमा २, नवलपरासी पूर्वमा १, स्याङ्जामा १, गोरखामा १ र लम्जुङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।
उनका अनुसार योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १,१९२ पुगेको छ।
उनीहरू सबैको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।
संक्रमित सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको शर्माले बताए।
