काठमाडौं- झनै तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २६ लाख ८३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोनाबाट २ लाख १४ हजार ७ सयभन्दा धेरै संक्रमित भएकाा छन् । शुक्रबार एकै दिनमा २ लाख ३६ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च हो ।
पछिल्लो एक साता यता दिनहुँ २ लाखभन्दा धेरै व्यक्ति कोरोनाबाट संक्रमित हुने गरेको तथ्यांकले देखाएको छ । विश्वभर एक सातामा मात्रै १४ लाख ४७ हजार ७ सयभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट आइतबार बिहानसम्ममा ५ लाख ६४ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ९ सय ९६ जनाको ज्यान गएको छ ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ३२ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ३६ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् भने ९ सय ६८ जनाको मृत्यु भएको छ। भारतमा शनिबार एकै दिनमा २७ हजार ७ सय ५५ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ४३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १३ हजार ४ सय ९७, रुसमा ६ हजार ६ सय ११, मेक्सिकोमा ६ हजार ८ सय ९१, कोलम्बियामा ४ हजार ५ सय ८६ जना संक्रमित थपिएका छन् । अर्जेन्टिनामा ३ हजार ४ सय ४९, पेरुमा ३ हजार ६४, पाकिस्तानमा २ हजार ७ सय ५२, बंगलादेशमा २ हजार ६ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा ७० जना नयाँ संक्रमित थपिदा ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट १६ हजार ७ सय १९ जना संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ ।
