काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालको जनसंख्या वृद्धिमा सन्तुलन र प्रजनन् स्वास्थ्यमा सुधार भएको बताएका छन्।
विश्व जनसंख्या दिवसको अवसरमा आज शुभकामना दिंदै मन्त्री ढकालले जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा कम भएको बताएका हुन्।
उनले बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायत क्षेत्रमा नेपालले ठूलो प्रगति गरेको बताएका छन्।
मन्त्री ढकालले भने, ‘जनसंख्या विकासको मूल आधार मात्रै नभएर देशको अस्तित्व स्थापना गर्ने मूल मापक नै हो।’
जनसंख्या नियन्त्रणमा सरकार प्रतिबद्ध भएको बताउँदै ढकालले दीगो विकास कार्यक्रमलगायतमा जनसंख्या व्यवस्थापनको मार्गमा खासखास सूचक सुधार गर्नुपर्ने बताएका छन्।
जनसंख्यको उचित वितरणको लागि अवस्थित बसोबास नियन्त्रण र स्रोतको न्यायोचित वितरणमा सरकारले ध्यान दिइरहेको उनको भनाइ छ।
