नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।
गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।
बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो।
सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको ६४।४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ।
