विराटनगर– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, (हिसान) मोरङले आगामी भदौ १६ गतेदेखि कक्षा सञ्चालनका लागि प्रस्ताव गरेको छ । उसले भदौ १६ गतेदेखि कक्षा ७, ८, ९ र १० को कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको हो ।
कक्षा सञ्चालनका लागि १२ बुँदे प्रस्तावित कार्यविधि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हिसानले हस्तान्तरण गरेको छ । हिसान मोरङका अध्यक्ष राजेश कार्कीले असोज १ गतेदेखि कक्षा ६ सम्मको कक्षा सञ्चालनका लागि राज्यले निर्धारण गरेको सुरक्षा सावधानी पूर्णरुपले पालना गरिने वताए ।
उनले भने, ‘थर्मल गन, सेनिटाईजर, सावुन पानी, मास्क, एक वेन्च एक विद्यार्थी, अनिवार्य विषयको मात्र कक्षा बढीमा ३ घण्टा हुनेछ ।’ कक्षा सञ्चालन गर्दा दुई सिफ्टका वीचमा अनिवार्य सेनिटाईज गरिने उनले बताए ।
कक्षा सञ्चालन बाहेक विद्यालय–कलेजले क्यान्टिन सञ्चालन नगर्ने, ब्रेक नगर्ने, सेक्सन अनुसारको शैचालयको फरक व्यवस्था गरिने प्रस्तावित कार्यविधिमा उल्लेख छ । हिसान अध्यक्ष कार्कीले विद्यार्थी सिधा कक्षा आउने र कक्षा सकिएपछि सिधा घर जाने नियम पालना गरिने बताए । विद्यालयले कक्षा सञ्चालनका समयमा स्वास्थ्य प्राविधिक राख्ने गरिको कार्यविधि बनाईएको उनले बताए ।
उनले भने, ‘आपतकालिन स्वास्थ्य सेवाको व्यवस्थाका लागि विद्यालय समय भित्र स्वास्थ्य प्राविधिकलाई तयारी अवस्थामा राखिने छ ।’ कक्षा प्रवेशका लागि पनि फरक फरक बाटोको प्रयोग गरिने तयारी गरिएको छ । मार्किङका आधारमा फरक–फरक बाटोबाट कक्षा प्रवेश गराई कार्कीले बताए ।
४ महिना देखिको लकडाउनका कारण विराटनगर भित्रका २ सय ५० निजी शिक्षण संस्था बन्द हुँदा १० हजार बढी शिक्षक, कर्मचारी, सवारी चालक, अप्रत्यक्ष रोजगारी पाएका हजारौंको समूह समस्या परेपछि कक्षा सञ्चालनका लागि प्रदेश सरकार समक्ष कार्यविधि प्रस्तुत गरिएको निहारिका कलेज विराटनगरका प्रमुख अमित ढकालले बताए ।
