मंगलबार, भदौ ९, २०८३

दोहोरी साँझका एक हजार कलाकारको भविष्य अन्योलमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बेरोजगार कलाकारमा मानसिक तनाव हुन थालेको बताउँछन्। ‘बत्ती निभेजस्तै गरी दोहोरी साँझहरु झ्पाप्पै बन्द भए। सयौं कलाकार बेरोजागर बने’, बिजीले भने, ‘अब कसरी व्यवस्थापन गर्ने चिन्ताको विषय छ।’
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

ठमेलस्थित दरबार रोधी क्लबको स्टेजमा कविता खत्रीले पाइला नटेकेको चार महिना पुग्न लागेको छ।

चैत पहिलो सातासम्म साँझ पर्नेबित्तिकै उनी मौलिक पहिरनमा ठाँटिएर रोधी क्लब पुथिन्। माइक्रोफोन समातेर दोहोरी भाका गाउँथिन्। त्यसबाट उनको जीवन चलेको थियो।
जुन दिन माइक्रोफोन समाउन बन्द भयो त्यसै दिनदेखि आम्दानी ठप्प भएको उनी बताउँछिन्।

पछिल्लो एक वर्षदेखि रोधी क्लबमा दोहोरी गाएर आफूसहित आमा र भाइको लालनपालन गर्दै आएकी ओखलढुंगाकी कविता यतिबेला कोठामै थुनिएकी छन्।

‘लकडाउनले पूरै बेरोजगार भइयो। कसरी पेट पाल्ने?’ कविताले भनिन्, ‘कोठा भाडा नतिरेको पाँच महिना भइसक्यो।’ काठमाडौंमा संघर्ष गरिरहेकी कविता अब भविष्य अनिश्चित बनेको दुःखेसो गर्छिन्।

‘पहिलो कुरा त लकडाउन कहिले खुल्ने हो थाहा छैन। त्यसमा रोधी क्लबहरु खुल्ने त झनै अनिश्चित छ’, उनले भनिन्।

रोधी क्लबको नियमित आम्दानीसँगै तीज लगायतका चाडपर्वको सिजन कलाकारका लागि राम्रो कमाइ हुने बेला हो। तर, कोराना महामारीले गर्दा कलाकारका स्वर बन्द छन्।
लकडाउनयता अधिकांश कलाकार गाउँ फर्किएका छन् भने केही राजधानीमै कोठामा थुनिएका छन्।

दुई वर्षदेखि काठमाडौंका दोहोरी साँझमा गीत गाएर आफू र परिवारको लालनपालन गर्दै आएकी बाग्लुङकी मनु बन पनि निराश छिन्।

दोहोरी साँझमा गाएर कमाएको पैसाले आफू र आमाको खर्च धान्दै आएकी मनु बेरोजगार भएको चार महिना भयो। उनी न त घरमै पुग्न सकिन् न त राजधानीमै बस्न सकिन्। लकडाउन अवधिभर उनी दोहोरी गाउने साथीको घर कपिलवस्तुमा छिन्।

घरमै फर्किएर मेलापात गर्नुपर्ने हो कि राजधानी फर्किएर पहिलेजस्तै गरी दोहोरी गाएर जीवन गुजारा चल्ने हो ? उनी अन्योलमा छिन्।

बाग्लुङकै शर्मिला बिसीको दिनचर्या पनि कोरोना महामारीले फेरिदिएको छ। लकडाउनअघि कमलादीस्थित गण्डकी दोहोरी साँझमा साँझपख प्रायः गुञ्जिने शर्मिलाको सुरिलो स्वर यतिबेला गाउँमै थन्किएको छ।

‘लकडाउन हुनुपूर्व नै म त घर फर्केकी’, शर्मिलाले भनिन्, ‘खेतबारी र मेलापातमै समय बितिरहेको छ। ‘दोहोरी साँझहरु अब तत्कालै खुलिहाल्छन् जस्तो छैन’, शर्मिलाले भनिन्, ‘गाउँमै बसेर सधैं काम गरेर बाँच्न सकिएला जस्तो छैन। तर के काम गर्ने टुंगो छैन।’

दोहोरी साँझ बन्द भएपछि गाउँ फर्किएर कृषि फर्ममा बिताएका गायक राजकुमार बानियाँ पछिल्लो समय राजधानी भित्रिएका छन्।

उनी राजधानी भित्रिए पनि काम गर्ने दोहोरी साँझ खुलेको छैन। करिब ९ वर्षदेखि दोहोरी क्षेत्रमा लागेका बानियाँले साथीसँग मिलेर आफैं दोहोरी साँझ सञ्चालनको योजना बनाएका थिए।

‘अब कलाकारिता क्षेत्रमै अगाडि बढ्ने कि अरु नै क्षेत्रमा लाग्ने यकिन भएको छैन’ बानियाँले भने, ‘के गर्ने दोधारमै छु।’ 

दोहोरी साँझ गायकगायिकाका लागि जागिर गर्ने स्थान त हुँदै हो, गायन सिक्ने र आफूलाई निखार्ने पाठशाला पनि हो। अधिकांश चर्चित गायकगायिका दोहोरी साँझमा गाएर आफूलाई निखार्दै र एल्बम निकालेर चर्चित बन्न सफल भएका छन्।

तिनै दोहोरी साँझ बन्द हुँदा कलाकार, वाद्यवादक र अन्य कामदार गरी करिब चार हजार बेरोजगार भएका छन्।

नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अनुसार देशभर एक सय २० संख्यामा दोहोरी साँझ छन् भने राजधानीमा ८७ वटा दोहोरी साँझ सञ्चालित छन्।

संघका अध्यक्ष विनोद श्रेष्ठ लकडाउन खुले पनि दोहोरी साँझमा काम गर्ने करिब एक हजार कलाकार यो पेसाबाट पलायन हुने बताउँछन्। ‘जस्तोसुकै काम भए पनि गर्छौं, हामीलाई काम दिनुप¥यो भनेर कलाकारले फोन गरिरहेका छन्, श्रेष्ठले भने।

यो व्यवसाय पुरानै अवस्थामा फर्किन कम्तीमा एक वर्ष लाग्ने उनको भनाइ छ। व्यवसाय कम चल्दा स्थापित कलाकारबाहेक सिकारुले काम पाउने सम्भावना नरहेको उनले बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बेरोजगार कलाकारमा मानसिक तनाव हुन थालेको बताउँछन्। ‘बत्ती निभेजस्तै गरी दोहोरी साँझहरु झ्पाप्पै बन्द भए। सयौं कलाकार बेरोजागर बने’, बिजीले भने, ‘अब कसरी व्यवस्थापन गर्ने चिन्ताको विषय छ।’

जीवन निर्वाहको विकल्पको रुपमा तत्काल गाउँमै फर्केर खेतीपातीमै संलग्न हुँदा राम्रो हुँने सुझाउँदै बिजीले भने, ‘कलाकारिता बौद्धिक सम्पत्ति हो। यो अरुले चोर्न सक्दैन। बाँचियो भने पछि पनि देखाउन सकिन्छ।’

प्रकाशित: Jul 11, 2020| 09:25 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।