काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भने, 'गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य वद्धि भएको छ।'
उनका अनुसार ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुगेको छ।
प्रधानमन्त्रीले भने, 'राजधानी उपत्यकामा महामारी क्रमशः तर तीव्र रुपमा बढ्दै जाँदै छ।' संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना हुने उनले बताए।
उनले राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनुपर्ने बताए।
प्रधानमन्त्रीले नेपालमा कोरोना महामारीको संकट हटिसकेकाले सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको बताए।
उनले शुक्रबारसम्म १६ हजार ६ सय ४९ जना नेपाली कोरोनाबाट संक्रमित भइसकेको बताए। उनले भने, 'संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरुको ०.२१ प्रतिशत हो।'
ओलीले उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितको संख्या ६० प्रतिशतभन्दा बढी रहेको बताए। उनले भने, 'यसबाट स्पष्ट हुन्छ, संक्रमितहरुमध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ।'
कुल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किएको प्रधानमन्त्रीको भनाइ छ। कुल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा रहेको ओलीले बताए।
उनले हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरुको पीसीआर परीक्षण गरिएको बताए। उनले भने, 'यो संख्या प्रतिदस लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो।'
पीसीआर परीक्षणलाई कुल जनसंख्याको २ प्रतिशत पुर्याउने प्रयास जारी रहेको प्रधानमन्त्रीले बताए। उनले कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीलाई परिचालन गरिएको जानकारी दिए।
प्रधानमन्त्रीले भने, 'सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचार कार्यमा अहोरात्र खटिरहेका छन्। वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं।'
लकडाउन अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार २ सय ५४ जना नेपालीहरु स्वदेश फर्किएको प्रधानमन्त्रीले जानकारी दिए।
असार २५ गतेसम्मको प्रदेशअनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको प्रधानमन्त्रीले बताए। त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र वागमती रहेको उनले बताए।
प्रधानमन्त्रीले भने, 'हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ।'
