काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक रहेकाले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै रहेको बताएका छन्।
उनले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भने, 'पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउनेछन्।'
उनले यसका लागि धैर्य र संयम आवश्यक रहेको बताएका छन्।
नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, 'अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ। म आश्वस्त पार्न चाहन्छु, आम नेपालीबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।'
उनले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने बताएका छन्।
ओलीले भने, 'मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन। त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ।'
