प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेरै बधाई एवम् शुभकामना दिएका छन्।
प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटेर शुभकामना तथा बधाई दिएका हुन्।
भेटघाटका क्रममा थापाद्वयबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको थियो।
प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए।
प्रहरी महानिरीक्षकलाई कार्यालयमै आएर प्रधानसेनापतिले बधाई दिएको सम्भवतः पहिलो पटक हो। यसअघि यस्तो परम्परा थिएन।
