मंगलबार, भदौ ९, २०८३

प्रविधिले थिचेको मौलिकता

पहिले नयाँ गीत तयार पार्न गहन अध्ययन गरिन्थ्यो। अध्ययनका क्रममा विभिन्न संस्कृतिसँग साक्षात्कार हुन्थ्यो। त्यसरी सिर्जना हुने गीत मौलिक हुन्थ्यो। गीतमा झर्रा शब्द, शैली र संस्कृतिको सुगन्ध आउँथ्यो।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

गीतसंगीत वा साहित्य सिर्जनामा मौलिकताको अर्थ समाजले अपनाइरहेको वा स्वीकार गरेको शैली हो। मौलिकता तत्काल बनाउन सक्ने, खरिद गर्न सक्ने वा स्वीकार गर्न सक्ने शैली होइन। यो आधुनिक विश्वको फन्को मारेर सिक्ने वा ठूलो धनराशिले किन्ने विषय पनि होइन। यो त आफू जन्मेको माटो चिनेर थाहा पाउने कुरा हो।

भैंसीको भकारोदेखि धानको भकारीसम्म, घरको अगेनादेखि खेतको आलीसम्म, मेलापातदेखि हाटबजारसम्म वा जन्मदेखि मृत्युसम्मका हरेक पाइला र भोगाइमा जुन ‘हाम्रो शैली’ छ त्यही मौलिकता हो।

गीतसंगीतमा यस्ता मौलिकता संरक्षणका लागि प्रविधिले निकै सहयोग गरिरहेको छ। वर्षौँ पुराना भाका रेकर्ड गर्न सकिन्छ र तिनलाई सञ्चारमाध्यममार्फत हेर्न वा सुन्न सहज भएको छ।

नेपाली गीतसंगीत क्षेत्रका थुप्रै आयाम भोगेका संगीतसाधक राजु सिंहको बुझाइमा प्रविधिले संगीतलाई धेरै सहज बनाउँदै लगेको छ। उनी भन्छन्, ‘प्रविधिले थुप्रै कुरालाई सहज बनाइदिएको छ। गीत रेकर्डिङ र वाद्यवादनका लागि सजिलो बनाएको छ, तयार पारिएको सामग्री राम्रोसँग संरक्षण गर्न सकिन्छ।’

तर प्रविधिको उच्चतम प्रयोगले मौलिक शैली हराउन थालेको छ। सिंह भन्छन्, ‘पहिले नयाँ गीत तयार पार्न गहन अध्ययन गरिन्थ्यो। अध्ययनका क्रममा विभिन्न संस्कृतिसँग साक्षात्कार हुन्थ्यो। त्यसरी सिर्जना हुने गीत मौलिक हुन्थ्यो। गीतमा झर्रा शब्द, शैली र संस्कृतिको सुगन्ध आउँथ्यो।’

मौलिकता बुझ्न गीत सुनेर मात्र पर्याप्त हुँदैन। त्यसको पृष्ठभूमि पनि बुझ्नुपर्छ। त्यो गीतसँग जोडिएका वाद्यावादनका सामग्री, तिनको निर्माण र परम्परासमेत बुझ्नुपर्छ।

नेपालको पहिलो गायक वा गायिका को हुन् भनेर थाहा पाउन गुगलमा ‘सर्च’ गर्नुपर्ने अवस्था छ। पहिलो गीत कुन हो भन्ने प्रश्नको उत्तर पनि गुगलमै खोज्नुपर्छ। पहिलो ‘रेकर्डेड’ गीत गुगलमा पाउन सकिएला तर ‘पहिलो गीत’ त पाइँदैन।

नेपाली संगीतको लिखित इतिहास लामो छैन। नेपाल एकीकरण पूर्वका बाइसे–चौबिसे राज्यसँग जोडिएका ‘गाथा’ अहिले पनि सुन्न र पढ्न पाइन्छ। पश्चिम नेपालको ‘हुड्के नाच’ धर्म–संस्कृति र बाइसे–चौबिसे राज्यको सन्दर्भसँग जोडिएकाे छ। मारुनी, सोरठी र भैली गीत प्राचीन गाथासँग जोडिएका संस्कृति हुन्।

भजनसंस्कृति, देउसीभैली वा तीज गीत पुस्तौंदेखिको उपासना वा वीरगाथासँग जोडिएर आएका हुन्। खोज्दै जाँदा त्यही छनकमा पाउनसमेत सकिन्छ। तर यिनैलाई कसैले पनि जस्ताको तस्तै अभिलेख गर्न सकेको छैन।

यी गीतसँग कस्तो संगीत थियो, वाद्यवादनका यन्त्र के थिए ती कुरा डिजिटल प्लेटफर्ममा पाउन सकिँदैन।

युवा पुस्ताका चर्चित संगीतकार आशिष अविरलले संगीतका सबै अभ्यास कम्प्युटरमै गरिसकेका छन्। उनीसँग गीतको एरेन्ज गर्न प्रत्यक्ष वाद्यवादनदेखि ‘कम्प्युटर प्रोग्रामिङ’ सम्मका अनुभव छन्।

लोक पपका क्षेत्रमा ‘युट्युब ट्रेन्ड मेकर’ का रुपमा रहेका उनी प्रविधिकै कारण आफू सफल भएको बताउँछन्।

मौलिकता बाँचिरहेको छ त ? उनी भन्छन्, ‘मैले मौलिक रुपमा जे सिकेको छु, त्यसलाई नै आधुनिक प्रविधिको प्रयोग गरी श्रोतामाझ ल्याउँछु। त्यसैले धेरैले मेरो संगीतलाई रुचाएका छन्। मैले गरेको काम नयाँ पुस्ताका लागि दस्ताबेजका रुपमा रहनेछ।’

कतिपय मौलिक वाद्यसामग्रीमा विकल्प खोज्न थालेको उनको अनुभव छ। उनी भन्छन्, ‘यो विकल्प प्रविधिसँग जोडिएको छ। सक्कली यन्त्र प्रयोग नगरी त्यसको विकल्प खोज्न थाल्दा नयाँ पुस्ताले मौलिक कुरा के थियो भन्ने थाहा पाउँदैन। त्यसैले प्रविधिमा निर्भर हुँदा केही संकीर्णता भने ल्याएको छ।’

युट्युब ट्रेन्डिङ मेकर हुँदा पनि सन्तुष्ट हुन नसकेर आशिष फेरि ग्रामीण परिवेश अध्ययन गर्न खोज्दै छन्। उनी यतिबेला गण्डकी प्रदेश र प्रदेश ५ मा प्रचलित पञ्चेबाजा प्रयोगका विषयमा अध्ययनरत छन्। पञ्चेबाजा जस्तै थुप्रै मौलिक शैलीका अन्य वाद्ययन्त्र बिस्तारै हराउन थालेका छन्।

संगीतज्ञ राजु सिंह नेपाली मौलिक गीत संरक्षणका लागि शक्तिशाली सरकारी निकाय आवश्यक रहेको औंल्याउँछन्। त्यो निकायले मौलिकतासँग जोडिएका वस्तुको खोजी, संकलन र संरक्षण गर्न सकोस्।

नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला, राष्ट्रिय नाचघर यिनै मौलिक संस्कृति संरक्षणका लागि स्थापित निकाय हुन्। विगतमा तिनले मौलिक नाच, गीतसंगीतका लागि ठूला सम्मेलन र प्रतियोगिता आयोजना गर्थे। त्यस्ता कार्यक्रमबाट प्रतिभा बाहिर आउँथे भने संस्कृति संरक्षणका क्षेत्रमा पनि सफलता मिल्ने गरेको थियो।

रेडियो नेपालले त गायकगायिका तथा वाद्यवादकलाई जागिर नै दिएको थियो। संगीतकार राजु सिंह सम्झिन्छन्, ‘उति बेलाका कार्यक्रमबाट नयाँ पुस्ताले केही सिक्न पाउँथे। संरक्षणका लागि भइरहने कार्यक्रमले मानिसलाई आफ्नो संस्कृतिमा अभ्यस्त बनाउँथ्यो।’

मूर्ति, शिलालेख वा चित्र त पुरातत्त्व विभाग र अभिलेखालयमा सुरक्षित भेट्न सकिएला। तर गीतसंगीतको संरक्षण गर्ने कुनै निकाय छैन। न त व्यक्तिगत पहलमै संरक्षण हुन सकेको छ।

नयाँ पुस्ता मारुनी, सोरठी, देउडा, सेलो, झ्याउरे वा झ्याँप्रे गीत कस्तो थियो भनेर सर्च इन्जिनमा खोज्नुपर्ने अवस्थामा पुगेको छ।
‘क्यासेट’ को प्रचलन हुँदासम्म पनि कतिपयले नयाँ–पुराना गीत तिनै क्यासेटमा संग्रहित गर्थे। कतिपयले आफैँले टेपरेकर्डर प्रयोग गरेर मौलिक गीतहरुको रेकर्ड र संरक्षण गर्ने गरेका थिए।

‘सिडी’, ‘हार्ड डिस्क’ र त्यसपछि ‘युट्युब’ मा भर पर्न थालेपछि यसको संरक्षणमा ध्यान जान छाडेको छ।

‘युट्युबमा खोजे भइहाल्यो नि’ भन्ने खालको मनस्थितिले रेकर्ड गरेर राखिएका गीत त पाउन सकिएला तर मौलिक गीत वा पुराना वीरगाथा जुन चाडपर्वमा गाइन्छ, हुड्के नाचमा गाइन्छ ती पाउन सक्ने कुरै भएन।

गीतसंगीतको आनन्द लिन मानिस लामो यात्रा गरेर मेला र जात्रामा जान्थे। सबैलाई आफ्नो रुचिअनुसार गाउने, नाच्ने वा सुन्ने अवसर थियो।
प्रविधिले मानिसलाई परनिर्भर बनाउँदै लैजाँदा यी सबै कुरा कसैले रेकर्ड गरेर युट्युब वा यस्तै डिजिटल प्लेटर्फममा राखिदिएपछि हेर्ने/सुन्ने प्रचलन बढेको छ।

यसरी संकलित गीतमा खास मौलिकताको सौन्दर्य कतै हराइसकेको हुन्छ। सुन्न र हेर्न पाइने तर अनुभूति गर्न नपाइने भएकाले नयाँ पुस्ताले त्यो संस्कृतिलाई अपनाउन वा अंगीकार गर्न सक्दैन।

संगीतकार आशिष भन्छन्, ‘प्रविधिको प्रयोगले गाउँगाउँबाटै पुराना भाका संकलन भएका छन्, सामाजिक सञ्जालमै पोस्ट हुँदा सहज रुपमा हेर्न पाइन्छ।’

त्यस्ता ससाना क्लिपमा मौलिकताको मर्म आउन नसक्ने उनी बताउँछन्। आशिष थप्छन्, ‘सामाजिक सञ्जालमा भेटियो र मन पर्यो भने त्यसको गहिराइ बुझ्न सम्बन्धित भौगोलिक क्षेत्रमै पुग्नुपर्छ। हैन भने एकछिनको रमाइलो मात्र हो।’

प्रयोगका नाममा मौलिकता बिगार्ने काम भइरहेको छ। यस्ता गीत सुन्दै हुर्किने पुस्ताले त्यसअघिका गीतसंगीत खोजेर पाउन सक्ने छैन।

प्रकाशित: Jul 11, 2020| 07:30 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।