मंगलबार, भदौ ९, २०८३

गुल्मीमा पहिरोले साढे दुई सय परिवार विस्थापित

पहिरोका कारण प्रदेश ५ को पहाडी जिल्ला गुल्मीका साढे दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

भैरहवा- पहिरोका कारण प्रदेश ५ को पहाडी जिल्ला गुल्मीका साढे दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार इश्मा गाउँपालिकामा १९४, मुसिकोटमा ५४ र रेसुंगा नगरपालिकाको भाडागाउँका ७ परिवार विस्थापित भएका हुन्। भाडागाउँको एक घर उच्च जोखिममा छ।

स्थानीयका अनुसार पहिरोका कारण रेसुंगा नगरपालिकाको भाडागाउँ दमाई टोलका केही परिवार विस्थापित भएका छन्।

इश्माका विस्थापितलाई स्थानीय हिमालय मावि र मुसिकोटका विस्थापित परिवारलाई राष्ट्रिय त्रिभुवन मावि र जनज्योति प्राविमा राखिएको छ।
भाडागाउँका पहिरोबाट विस्थापित पधेंल पोखरा मन्दिरमा बसिरहेको स्थानीय बताउँछन्।

स्थानीय शेरजंग बस्तेतले तल्लो ब्योरेंमा तीन घर विस्थापनमा परेको बताए। उनले भने, “भिरालो जमिन छ, कतिबेला कहाँ पहिरो जान्छ, डर बढेको छ।”

विपद् व्यवस्थापन समिति, गुल्मीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला विपद् व्यवस्थापन समितिबाट पहिरोग्रस्त क्षेत्रको अवलोकन र विस्थापितसँग भेटघाट गरि उद्धार र राहत पुर्याउने र पुनःस्थापना विषयमा छलफल गरिरहेको बताए।

उनले पहिरोग्रस्त क्षेत्रको भौगोलिक, भौगर्भिक, जलाधार संरक्षण र एकीकृत बस्ती विकासका लागि अध्ययन गर्न विज्ञ टोली पठाइदिन गृह मन्त्रालयमा अनुरोध गरिसकेको र उक्त टोली आउने तयारीमा रहेको समेत बताए।

संघीय सरकारले भूगर्भविज्ञ सहितको टोली गुल्मी पठाउने तयारी गरेको बताइएको छ।

गुल्मीमा पहिरोमा परि यस वर्ष दुई जनाको ज्यान गइसकेको छ। इश्मा र मुसीकोट गाउँपालिकामा यहीँ असार १८ गते एक/एक जनाको ज्यान गएको हो।

गत साउन पहिलो साता सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा गएको पहिरोमा परि १० जनाको ज्यान गएको थियो।

घाइतेलाई उपचारका लागि काठमाडौं पठाइयो

इश्मा गाउँपालिकामा पहिरोमा परि घाइते पाँच जनालाई पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्टले उपचारका लागि काठमाडौं लगेका छन्। सांसद् विष्ट सोही क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्छन्।

पहिरोमा परेकाको उद्धार गर्न हेलिकोप्टरमा लाखौं रुपैयाँ खर्चिनुभन्दा हिउँदमा पहिरोको जोखिम न्यूनीकरणको काम गर्न जरुरी छ। त्यसतर्फ सरकारको प्रभावकारी योजना बन्न सकेको छैन।

क्षति कति?

इश्मा गाउँपालिकामा पहिरोका कारण १६ भैंसी, दुई गाई, ६ गोरु, २३ बाख्रा, ५० कुखुरासँगै सात वटा माछा पोखरी नष्ट भएको छ।

यसैगरी उक्त पालिकामा ४२० रोपनीमा लगाएको मकै, ४०० रोपनीमा लगाइएको बर्खे धान र ६२ रोपनीमा लगाएको चैते धान पनि पूर्णरुपमा नष्ट भएको छ। उक्त पालिकामा पहिरोले ३९ घर, २३ गोठ, २ विद्यालय, ७० सिँचाई कुलो र ६५ खानेपानीको मुख्य मुहान ध्वस्त बनाएको छ।

पहिरोले मुसिकोट गाउँपालिकामा होटलसहित तीन घर, पाँच गोठ, एक कुखुरा फर्मसँगै ११ भैंसी, तीन गोरु, २५० कुखुरा र २० बाख्रा नष्ट गरेको छ।

प्रकाशित: Jul 10, 2020| 15:52 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।