सिभिल मलमा व्यवसाय गर्नेहरुलाई व्यवस्थापनले भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
मलका पसलहरु लिजमा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु कोरोनाका कारण भाडा तिर्न नसक्ने अवस्था भएकोले भाडामा छुट दिएको व्यवस्थापनले जनाएको छ ।
तर भाडामा छुट दिँदा केही सर्त राखेको भन्दै व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन्। आज दिउँसो व्यवसायीहरुले कोभिड १९ का कारण व्यवसाय सञ्चालन गर्न नसक्ने र भाडा पनि तिर्न नसक्ने भन्दै व्यवस्थापनलाई चावी बुझाउने कार्यक्रम थियो । चावी बुझाउन गएका व्यवसायीहरुलाई व्यवस्थापनले ५० प्रतिशत भाडा छुट दिने आश्वासन दिएको हो ।
सिभिल मलका महाप्रबन्धक विश्वप्रकाश मास्केका अनुसार मलले व्यवसायीलाई चैतदेखि असारसम्मको चार महिनाका लागि सटर भाडामा ५० प्रतिशत छुट दिने भएको छ । साथै, साउनदेखि असोजसम्मको तीन महिनाको भाडामा पनि २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मल व्यवस्थापनले गरेको निर्णयमा व्यापार गर्ने केहीले सहमति जनाएका छन् भने केहीले लकडाउन अवधिभरको भाडा पूरै छुट दिनुपर्ने माग गरिरहेका छन् । सिभिल मलमा ठूला र साना सबै गरेर १७० वटा सटर छन् ।
५० प्रतिशत छुट पाउनका लागि असारभित्र नै भाडा तिर्नुपर्ने सर्त व्यवस्थापनले राखेको भन्दै पसल सञ्चालकले असन्तुष्टि जनाएका छन्। सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले साउन लागेपछि तिरेमा २५ प्रतिशतमात्र छुट दिने सर्त अघि सारिएकोले आफूहरुलाई मान्य नभएको बताए ।
