काठमाडौं- भारी वर्षापछि खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ। केन्द्र प्रमुख पशुपति गौतमले कालीगण्डकी नदीमा पानीको वहाब बढेकाले विद्युत् गृह कहिले संचालन हुने भन्नेबारे अहिले केही भन्न नसकिने बताए।
प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन्। निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसी लगायतका विद्युत् गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ।
भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए। बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए।
“विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबड भएको छ, करिब पाँच सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं,” घिसिङले भने, “आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ।”
उनले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए।
