भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ।
भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।
त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ। काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुरडटकम’ लाई बन्द गरेको छ ।
त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।
यससँगै प्रशारण बन्दको कारबाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।
