सुर्खेत– कर्णालीका मिनी संसद् अर्थात संसदीय समितिको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । समिति गठन गरेको तीन वर्षपछि नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
समितिको अध्यक्षका लागि असार २८ गते दिउसो १ बजे निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि उम्मेदवारी दिन असार २७ गते (शनिबार) मिति तोकिएको छ । मनोनयनका लागि २७ गते बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले चार वटा समिति गठन गरेको थियो । तर नेकपाभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । नेतृत्व नभएपछि जेष्ठ समितिका जेष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए ।
प्रदेशसभामा विभिन्न चार वटा विषयगत समितिको नेतृत्वका लागि छन् । हाल जेष्ठ सदस्यताका आधारमा अर्थ तथा प्राकृतिक समितिमा अमरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।
सार्वजनिक लेखा समितिका अध्यक्ष श्रेष्ठ प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद हुने भने अन्य तीन वटा समितिका सभापति सत्तारूढ दलकै सांसद हुन् ।
