काठमाडौं- खोटाङ घर भई काठमाडौंको गौशालामा बस्दै आएका एकराम राईविरुद्ध महानगरीय अपराध महाशाखामा उजुरी पर्यो।
रोजगारीका लागि मलेसियामा रहेका एक युवकले राईले आफूलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको व्यहोराको उजुरी दिएका थिए।
प्रहरीका अनुसार राईले प्रेमिकासँग शारीरिक सम्पर्क गरेको भिडियो बनाई त्यसलाई पैसा कमाउने अस्त्र बनाउन खोजेका थिए।
आफ्नी प्रेमिकासँगकाे गाेप्य भिडियोको दुरुपयोग गर्दै विदेशमा रहेका नेपाली युवाहरुलाई चङ्गुलमा पार्ने राईको योजना सफल पनि भयो।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार राईले युवतीको नाममा फेसबुक एकाउन्ट खोलेर अश्लील गफ गर्न थाले।
गफैगफमा उनले अर्धनग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। अन्ततः राईले प्रेमिकालाई थाहै नदिई गरेको उक्त हर्कत पर्दाफास भएरै छोड्यो।
‘मलेसियामा रहेका ती युवालाई नेपाल आउँदा शारीरिक सम्पर्क गर्नसमेत तयार रहेको भन्दै सन्देश पठाएपछि युवाले राईको खातामा ७० हजार रुपैयाँ पठाइदिए’ कार्कीले भने, ‘खाताबाट पैसा झिकेपछि राई सम्पर्कबिहीन भएछन्।’
जब राई सम्पर्कबिहीन भए तब मात्रै ती युवाले आफू ठगिएको चाल पाए। राईलाई प्रहरीले पक्राउ गर्यो। आफूले पैसा कमाउन यस्तो हर्कत गरेको उनले प्रहरी समक्ष स्वीकारे। महानगरीय प्रहरी परिसर टेकुले राईविरुद्ध विद्युतीय अपराध तथा सजाय ऐनमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।
नग्न तस्बिर पठाएर पैसा असुली
लकडाउनकै अवधिमा अपराध महाशाखामा पुगेको अर्को घटना झन अचम्मको छ। ललितपुरकको भैंसेपाटीमा बस्दै आएकी एक युवतीले खर्चको जोहो गर्न आफ्नै संवेदनशील अंग फेसबुकमार्फत् विभिन्न युवालाई पठाएर पैसा असुलेको खुलेको छ।
महाशाखाका अनुसार ती युवतीले फेसबुकमा साथी बनाउँदै युवाहरुलाई आफ्ना नितम्ब तथा स्तनको फोटो पठाउन थालिन्। प्रत्येक अंग पठाएबापत उनले रकमको दरसमेत तोक्न थालिन्।
एक युवकबाट उनले २५ हजार रुपैयाँ लिइसकेकी थिइन्। ती युवाले पुरै शरीरको नग्न फोटो पठाएबापत १७ हजार रुपैंया दिने बताएपछि युवतीले नग्न फोटोसमेत पठाइदिइन्। त्यसबापत उनले पैसा पनि पाइन्। ती युवकले शारीरिक सम्पर्कको प्रस्ताव गर्दै मागे जति पैसा दिन तयार रहेको बताए।
शारीरिक सम्पर्कको प्रस्ताव भने युवतीले स्वीकार गरिनन्। फोटोहरु हेरेरै पैसा डुबाईसकेका युवकले शारीरिक सम्पर्क गर्न नपाउने भएपछि उल्टै ब्ल्याकमेलिङ गर्न थाले।
आफूले भनेको नमानेमा सबै फोटोहरु सार्वजनिक गरिदिने धम्की दिएपछि युवतीको हर्कत प्रहरीमा पुग्यो। महाशाखाको टोलीले ती युवकलाई पक्राउ गर्यो।
युवकको मोबालाइलमा रहेका आफ्ना सबै अश्लील तस्बिरहरु डिलिट गराई सम्झाएर छाड्न युवतीले सहमति गरेपछि मुद्दा दर्ता नभएर सहमतिमा टुंगियो।
ती युवती म्युजिक भिडियाेहरुमा अभिनयसमेत गरेकी माेडल रहेकाे प्रहरीले जनाएकाे छ।
जेठानीको फेसबुकबाट आफन्तलाई नै अश्लील सामग्री
लकडाउनकै अवधिमा अपराध महाशाखामा पुगेको जेठानी देउरानीबीचको घटना पनि रोचक छ। शान्तिनगरमा बस्ने एक देउरानीले जेठानीको फेसबुकबाट आफन्तलाई नै अश्लील सामग्री पठाएको खुलेको छ।
प्रहरीका अनुसार जेठानीको फेसबुक पासवर्ड देउरानीलाई थाहा थियो। सुरुमा सम्बन्ध राम्रै भए पनि पछि खटपट हुँदा देउरानीले जेठानीलाई तह लगाउन उनैको फेसबुकको दुरुपयोग गरिदिइन्।
महाशाखाका एक अधिकृतका अनुसार जेठानीको फेसबुकको पासवर्ड बदलेर देउरानीले आफन्तसहित विभिन्न मानिसलाई आफ्नै संवेदनशील अंगको फोटो खिचेरसमेत पठाइन्।
जेठानीको भाइ नाता पर्ने एक युवकलाई देउरानीले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लेखेर पठाइन्। ती युवकले दिदीबाट आएको त्यस्तो सन्देश देखेर अचम्म मान्दै फोन गरेपछि देउरानीको कर्तुत खुलेको हो।
फेसबुकको पासवर्ड बिर्सिएको लागेर महिना दिनदेखि फेसबुक नचलाएकी जेठानी आफन्तसँगै महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। घटनाबारे जानकारी गराउँदा फेसबुकको पासवर्ड देवरानीलाई मात्रै थाहा भएको बताएपछि प्रहरीलाई देउरानीको कर्तुत पत्ता लगाउन सजिलो भयो।
एक पटकलाई माफी दिने सहमति भएपछि उक्त घटना मुद्दा नचलेरै मिलापत्रमा टुंगिएयो। लकडाउनको अवधिमा साइबर अपराधसम्बन्धी एक सय बढी उजुरी महाशाखामा परेका छन्। महाशाखाका प्रमुख एएसपी दीपक थापा सूचना प्रविधिमा बढ्दो पहुँचसँगै साइबर अपराधका घटनामा उल्लेख्य वृद्धि भएको बताउछन्।
