मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति असारमा नआउने, गभर्नरले भने– नआत्तिनुस् केही व्यवस्था गर्छौं

मौद्रिक नीति असारमा नआउने, गभर्नरले भने– नआत्तिनुस् केही व्यवस्था गर्छौं

आगामी आर्थिक वर्षको मौद्रिक नीति असारभित्र नआउने भएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

आगामी आर्थिक वर्षको मौद्रिक नीति असारभित्र नआउने भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आयोजित मौद्रिक नीतिबारेको भर्चुअल छलफलमा केही प्राविधिक कारणले मौद्रिक नीति साउन पहिलो सातामात्र ल्याउनुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था र उद्योगी–व्यवसायीलाई नआत्तिन आग्रह गरे।

उनले भने, ‘असार मसान्तभित्रमा ऋणको साँवा तथा व्याज तिर्न सक्नेले तिर्नुहोस्, नसक्नेको लागि हामी समय थप्छौँ। बैंकहरुले पनि ऋण तिर्नका लागि दबाब नदिनुहोस्, ऋणीहरु पनि नअत्तालिनुहोस्।’

उनले ऋणको पुनर्तालिकीकरण, पुँजीकरण लगायतमा ऋणीहरुलाई मर्का नपर्ने र बैंकहरुलाई पनि असहज नहुने गरी मौद्रिक नीति ल्याउने बताए।

त्यस्तै उनले कोभिड १९ का कारण उत्पन्न भएको असहज अवस्था विस्तारै सहज हुँदै गएको दाबी गर्दै जेठमा मात्र ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा बैकिङ क्षेत्रबाट प्रवाह भएको जानकारी दिए। यसले नेपालको अर्थतन्त्र विस्तारै पुनः चलायमान हुँदै गइरहेको देखिएको उनको तर्क छ।

उद्योग वाणिज्य महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी असार मसान्तभित्रमा नै मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको थियो। राष्ट्र बैंकले ऋणको साँवा र व्याज तिर्नका लागि असार मसान्तको समयसीमा तोकेपछि बैंकहरुले ऋणीलाई ऋण तिर्नका लागि ताकेता गरेका थिए ।

त्यसैले मौद्रिक नीति असार मसान्तभित्रमा नै ल्याएर निजी क्षेत्रले लिएको ऋणको पुँजीकरण वा पुनर्तालिकीकरण गर्नेजस्ता कामहरु गर्नका लागि राष्ट्र बैंकसँग आग्रह गरेको थियो ।

प्रकाशित: Jul 09, 2020| 16:16 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्