काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीका पक्षमा आयोग सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले गिरीमाथिको कारबाही संविधान, कानुन र दलको विधानअनुरूप रहेकाले अन्सारीको अभिव्यक्तिलाइ लिएर भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
सदस्य अन्सारीले मंगलबार ‘समाजवादी पार्टीले संसद सदस्य सरिता गिरीमाथि विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम गरिएको कारबाहीलाई खेदजनक छ’ भनेर ट्विट गरेकी थिइन्।
अध्यक्ष शर्माले बिहीबार जारी गरेको व्यक्तिमा भनिएको छ, ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ।’
आयोगले असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराएको थियो। शर्माले भनेको छन्, ‘तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ। तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ।’

