जर्मन चान्सलर अंगेला मर्केलको सीडीयू पार्टीले महिला सहभागिता बढाउन पार्टी नेतृत्वमा कोटा तोकेको छ। कन्जरभेटिभ पार्टीको यो कदमले पार्टी र राजनीतिमा महिला आकर्षित होलान्?
मर्केल सन् २००५ देखि जर्मनीकी चान्सलर छन्। अहिले १५ वर्ष भएका किशोरकिशोरीले अहिलेसम्म मर्केलबाहेक अर्को चान्सलर देखेका छैनन्।
हेल्मुट कोल वा गेहार्ड स्रोएडरको शासनकाल कस्तो थियो उनीहरुलाई थाहा छैन। यस कारण अहिलेको जर्मनी बाँकी विश्वभन्दा फरक छ।
मर्केल आजका युवा महिलाका लागि उदाहरण हुन्– राजनीति जस्तो पेसामा पनि महिला कसरी जम्न सक्छन् भन्ने।
जर्मनीको पहिलो महिला चान्सलर मर्केल आफ्नो दल सीडीयूकी पहिलो महिला अध्यक्ष पनि हुन्।
सन् २००० देखि सन् २०१८ सम्म उनले पार्टी अध्यक्षको पद सम्हालिन्। त्यसपछि पनि पार्टी नेतृत्वको जिम्मेदारी महिलामै पुग्यो। आनेग्रेट क्राम्प कारेनबावर (एकेके) लाई मर्केलपछि जर्मनीको चान्सलरका रुपमा हेर्न थालिएकाे थियो।
मर्केलपछि अब उनको ठाउँमा को आउँछ भन्ने जान्न अझै एक वर्ष कुर्नुपर्छ। कार्यकाल सकिनुुअघि मर्केल चान्सलर पद महिलाका लागि सुरक्षित गर्न चाहन्छिन्।
यसै पनि आफ्नो चौथो मन्त्रिमण्डलमा करिब आधाजसो मन्त्रालय महिलालाई दिएर उनले विश्वलाई नै गहकिलो सन्देश दिएकी थिइन्। सुरुमै उर्सुला फोन डेय लायनलाई र त्यसपछि एकेकेलाई रक्षामन्त्री बनाउनु यही सन्देशको एउटा भाग थियो।
मर्केलको पार्टीको यो सुनौलो तस्बिर पछाडिको सत्य अलिक फरक छ। त्यो के हो भने सीडीयू पार्टीमा अहिले महिलाको संख्या एक चौथाइ मात्रै छ। यसै कारण मर्केल महिलालाई अवसर दिएर पार्टीको हालको अवस्था परिवर्तन गर्न चाहन्छिन्।
वर्षौंदेखि जारी बहसपछि अखिरमा उनको पार्टीले सन् २०२५ सम्म पार्टी नेतृत्वमा महिला र पुरुषलाई बराबर सहभागी बनाउने निर्णय गरेको छ।
आगामी वर्ष पार्टीका मुख्य पदमा ३० प्रतिशत हिस्सा महिलाको हुनेछ भने २०२३ मा ४० प्रतिशत र २०२५ मा ५० प्रतिशत पुर्याउने लक्ष्य छ।
यो निर्णयको पार्टीभित्रै विरोध भइरहेको छ। तीमध्ये एक थरी परम्परागत सोच राख्ने युवा छन्। जो महिला भएकै कारण नभएर क्षमता र प्रतिभाका आधारमा अवसर दिइनुपर्ने तर्क गर्छन्। केही भने चान्सलर, पार्टी अध्यक्ष र अन्य महत्त्वपूर्ण पदमा महिला नै भएका बेला यस्तो निर्णय ठिक नभएको बताउँछन्।
जेसिन्डा उदाहरण
यस्तो अवस्थामा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनको सन्दर्भ उल्लेख गर्नु उचित हुन्छ। दुई वर्षको कार्यकालमा उनले विश्वभर निकै चर्चा बटुलेकी छन्।
पहिलो पटक उनी प्रधानमन्त्री पदमा बहाल छँदै आमा बन्ने दोस्री महिला बनेर चर्चित भइन्। आमा बनेर उनले पूर्वाग्रहलाई तोडिन्। आज पनि अधिकांश महिलाका लागि सन्तानको पालनपोषणले करिअरमा बाधा बनिरहेको छ। राजनीति गर्ने महिलाका लागि त यो झनै ठूलो अवरोध बनिदिन्छ।
जसरी आर्डन प्रधानमन्त्री छँदै आमा बन्दा महिलाको सामाजिक समस्या समाप्त हुँदैन, त्यसैगरी मर्केल १५ वर्ष निरन्तर चान्सलर बन्नुले पनि महिलालाई राजनीतिमा सक्रिय बनाउन सजिलो पार्दैन।
भारतमा इन्दिरा गान्धी र बेलायतमा मार्गरेट थ्याचर दुवै एघारएघार वर्ष सत्तामा थिए। यी दुवै महिला प्रधानमन्त्रीले आ–आफ्ना देशमा इतिहास रचे तर, त्यसपछि के भयो, जगजाहेर नै छ।
थ्याचरपछि अर्को महिला प्रधानमन्त्री पाउन बेलायतले २५ वर्ष पर्खनुपर्यो। भारत त ३५ वर्षपछि पनि अर्को महिला प्रधानमन्त्री बनाउन तयार देखिँदैन।
त्यसैले मर्केलपछि जर्मनीमा महिलाको बाटो सजिलो होला भन्ने ठान्नु गलत हुन्छ।
नेतृत्वमा पुग्नका लागि प्रतिभा र क्षमता निःसन्देह जरुरी हुन्छ। तर अवसर पाउनु पनि उत्तिकै जरुरी छ। मर्केल महिलाका लागि त्यही अवसर खोजिरहेकी छन्।
यो अवसरअन्तर्गत ‘पोलिटिकल प्यारेन्टल लिभ’का बारे पनि चर्चा भइरहेको छ। जर्मनीमा सन्तान जन्मिएपछि महिला र पुरुषलाई बराबर बिदा लिने अधिकार छ। तर, अधिकांश महिलाले नै शिशु स्याहारका लागि लामो बिदा लिएको देखिन्छ।
राजनीतिमा एक वर्ष जनताबाट टाढिनु करिअरको अन्तजस्तै मानिन्छ। तर, अब यो मान्यतामा पनि परिवर्तन ल्याउने प्रयास हुँदै छ। ‘सन्तान जन्मनु राजनीतिक प्रतिबद्धताको बाटोमा तगारो हुन सक्दैन’ भन्ने अभियानले नेताहरुलाई आफ्नो पूर्वपदमा एक वर्षपछि फर्कन सजिलो हुनेछ।
मर्केल पार्टीसँग मिलेर राजनीतिक माहोल परिवर्तन गर्ने प्रयासमा छिन्। तर जबसम्म सामाजिक सोचमा परिवर्तन आउँदैन तबसम्म परिवारमा महिला र पुरुषमा समानता आउँदैन।
घरको जिम्मेदारी महिलाको काँधमा मात्र सुम्पिएसम्म यस्ता प्रयासले खासै परिणाम दिँदैन।
मर्केलले राजनीतिको ढोका त उघारिदिइन् तर, त्यो ढोकासम्म पुग्नु पनि आफैंमा एउटा लामो यात्रा हुनेछ। जुन यात्रा सामाजिक समस्यासँग जुध्दै, पर धकेल्दै महिला आफैंले तय गर्नुपर्नेछ।
