काठमाडौं- सरकारले लक्षण नभएका तथा सामान्य अवस्थामा रहेका कोरोना संक्रमितहरु घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड जारी गर्दै अबदेखि सामान्य अवस्थाका संक्रमितलाई घरमै राख्न सकिने व्यवस्था गरेको हो।
मापदण्डको परिच्छेद २ (११) मा संक्रमणको कुनै पनि लक्षण तथा चिह्नहरु नभएका र सामान्य लक्षण तथा चिह्नहरु भएका संक्रमित व्यक्तिहरु आफ्नै घरमा बस्न सक्ने भनिएको छ।
संक्रमितले घरमै आइसोलेसनमा बस्न चाहेमा मन्त्रालयले तोकेको मापदण्डअनुसार बस्नुपर्ने उल्लेख गरिएको छ।
साथै संक्रमितहरुलाई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी नियमित फ्लोअप गर्नुपर्ने मापदण्ड तयार पारिएको छ। कुनै पनि संक्रमितलाई स्वास्थ्यकर्मीहरुले दैनिक दुईपटक फोन तथा एसएमएसबाट अवस्था बुझ्नुपर्नेछ। घरमै आइसोलेट भएर बसेका प्रत्येक ५० जना संक्रमित बराबर एकजना स्वास्थ्यकर्मीले अनुगमन गनुपर्ने उल्लेख गरिएको छ।
संक्रमित घरमै बस्दा पालना गर्नुपर्ने केही नियमहरू मन्त्रालयले मापदण्डमा उल्लेख गरेको छ। संक्रमितहरु घरमा बस्दा प्रकाश र हावा आउने छुट्टै कोठामा बस्नुपर्नेछ। साथै संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न मन्त्रालयले सुझाएको छ।
संक्रमितले दैनिक २ पटकसम्म ज्वरो नाप्नुपर्नेछ भने कुनै समस्या (श्वासप्रश्वासमा कठिनाइ, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था) देखिएमा परिवारका सदस्यले स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्नेछ।
आइसोलेसनबाट कसरी छुट्ने ?
कुनै पनि संक्रमितहरु लक्षण तथा चिह्नहरु नदेखिएको खण्डमा १४ दिनमा आइसोलेसनबाट मुक्त हुन पाउँछ भने सामान्य लक्षण तथा चिह्न देखिएका संक्रमितहरु लक्षण तथा चिह्नहरु पूर्ण रुपमा निको भई त्यसको तीन दिनपछि आइसोलेसनबाट मुक्त हुन पाउनेछन्।
हेर्नुहाेस् मापदण्ड
