हास्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ। वीरगन्जका युवा ओमप्रकाश सराफले क्षेत्रीविरुद्ध हुलाकमार्फत् उजुरी दिएका हुन्।
टेलिभिजन कार्यक्रममार्फत् मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हास्य कलाकार क्षेत्रीविरुद्ध सराफले उजुरी दिएका हुन्।
क्षेत्रीले दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘ह्वाट द फ्लप’ नामक कार्यक्रममा मधेसीको मान तथा स्वाभिमानमा आँच पुर्याउने गरी कार्यक्रम उत्पादन गरेकोले उजुरी दिएको सराफले बताए।
मंगलबार उजुरी दिन जिल्ला प्रहरी कार्यालयमा पुग्दा प्रहरीले दर्ता गर्न नमानेकोले कानुनविद्हरुको सल्लाहमा हुलाकमार्फत् उजुरी पठाइएको सराफले जानकारी दिए।
कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’ मा भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी सात वर्षपछि नागरिकता पाइने व्यवस्था लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरी मधेसी महिलाको अस्मितामा चोट पुर्याएको तर्क गरिएको छ।
क्षेत्रीमाथि कारवाही नगरे सडक संघर्षमा उत्रिने वीरगन्जका युवाहरुले चेतावनी दिएका छन्।
