धनगढी– हत्या आरोपमा पक्राउ परेका एक युवा प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन् ।
हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित भागेका हुन् ।
इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले पुष्टि गरेका छन्।
फरार ऐरको खोजीका लागि प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक जबराले बताए।
घरमा कोही नभएको मौका पारेर असार २३ गते दिउँसो ३ बजे गणेशबहादुर ऐरले हजुरआमा पार्वतीदेवी ऐरलाई फलामको रडले प्रहार गरी घाइते बनाएर घरको पश्चिममा रहेको अरहर बारीमा लगी धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको बयान प्रहरीमा दिएका छन्।
