सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीपहिरोमा परी २० जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै बुधबार राति खागदल खोलामा आएको बाढीसँगै पहिरो खस्दा बाह्रबिसे नगरपालिका ५ जम्बोमा १६ जना बेपत्ता भएका छन्।
पक्कीसहित २० घर बगाउँदा ५ जना घाइते भएका छन्। सोही स्थानमा बाबुछोरीको शव भेटिएको छ।
२० वर्षका निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले नेपाल समयलाई जानकारी दिए।
उनका अनुसार बाढीले बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी बगाएको छ। खागदलको पक्की पुल बगेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै भोटेकोसी गाउँपालिका ५ बुलकोटीमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन्। २ जना घाइते भएका छन्। बेपत्ताको खोजी कार्य तीव्र पारिएको डीएसपी काफ्लेले जानकारी दिए।
