भारतको कानपुरमा ८ जना सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका विकास दुबे पक्राउ परेका छन्।
बीबीसीका अनुसार उनी मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका हुन्।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेका छन् तर उनले थप जानकारी भने दिएनन्।
उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले दुबेलाई पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाइदिएको बताइएको छ।
गुण्डा समूहका नाइके दुबेमाथि कानपुरमा डीएसपीसहित ८ जना प्रहरीको हत्या गरेको अभियोग छ।
गएको शनिबार राति दुबेलाई पक्राउ गर्न उनको घरमा गएको प्रहरीमाथि दुबेको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जना डीएसपी, ३ जना सबइन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका थिए।
प्रहरीको हत्या गरी दुबेको ग्याङ फरार भएको थियो।
केही वर्षअघि उत्तर प्रदेशमा एक राज्यमन्त्रीको हत्या गरेको आरोपमा पनि प्रहरीले उनको खोजी गरिरहेको थियो।
