कञ्चनपुर– कञ्चनपुरमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१३ की १४ वर्षीया बालिका नेहा सुनार हिजो बेलुका नहरमा डुबेर बेपत्ता भएकी हुन् ।
नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए ।
नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि समस्या भएको बताउँदै प्रहरी नायव उपरीक्षक थापाले बालिका भने फेला नपरेको जानकारी दिए।
