काठमाडौं- नेपाल प्रहरीको परिचर पदमा कार्यरत बुटवलका सुवास थारुको ह्वाट्सएपमा एउटा म्यासेज आयो।
म्यासेज थियो ‘तपाईलाई तीन करोड ६० लाखको लट्री (चिठ्ठा) पर्यो बधाई छ।’ यति ठूलो रकम चिठ्ठा परेको सुनेर उनी खुसी नहुने कुरै भएन।
थारुले चिठ्ठा परेको खुसी आफूसँग मात्र सिमित राख्न सकेनन्। उक्त खुसी पत्नीलाई पनि सुनाए।
सित्तैमा यति ठूलो रकम पाउने भनेपछि उनमा खुसीको सीमा नै रहेन। लट्री बापतको रकम पाउँनका लागि विभिन्न प्रक्रिया पुरा गर्न रकम चाहिने भन्दै थारुको ह्वाट्सएपमा म्यासेज आउन थाले।
कहिले बैंक खाता खोल्न, कहिले डलर साट्न त कहिले सरकारलाई कर तिर्न भन्दै थारुबाट बारम्बार रकम मागियो। रकमको जोहो गर्दै म्यासेजमा भने अनुसारका व्यक्तिको नाममा खुरुखुरु रकम पठाउन थाले।
विभिन्न ९ जनाका नाममा थारुले २० लाख ४६ हजार ६ सय रुपैयाँ पठाए। जति रकम पठाए पनि चिठ्ठा परेको रकम उनको हातमा परेन। जब पैसा लिनेहरु सम्पर्कविहीन बने तब मात्र आफू ठगिएको उनले चाल पाए।
‘सित्तैमा करोडौँ रकम पाउने लोभले केटाले साढे २० लाख रुपैयाँ डुबाएछ’ महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले भने, ‘घर जग्गा नै बेचेर रुपैयाँ पठाएको खुलेको छ।’
थापाका अनुसार ठगले थारुलाई विश्वास दिलाउन पैसा नै पैसा भएको भिडियोसमेत पठाएर प्रलोभनमा पारेका थिए।
प्रहरीका अनुसार थारुलाई ठगी गर्ने मुख्य योजनाकार भारतमा छन्। उनले नेपाली प्रयोग गरेर नेपालीलाई नै लट्रीका नाममा ठगी गर्दै आएको खुलेको छ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले थारुलाई ठगी गर्ने कार्यमा प्रयोग भएकामध्ये दुई जना पक्राउ परिसकेका छन्।
महाशाखाको टोलीले अनलाइन ठगीको आरोपमा पक्राउ परेका सात जनामध्ये थारुलाई ठग्ने नविन भण्डारी र पुष्कर बर्मा हुन्। थारुले उनीहरुका नाममा ‘आइएमई’ गरेर रकम पठाएका थिए।
उनले एकै पटक पाँच लाख २५ हजार रुपैयाँ एकै जनाको नाममा पठाएको खुलेको छ। कार्कीका अनुसार अधिकांश ठगीमा परेकाहरु पहिलो या दोस्रो पटक पैसा मागेपछि सचेत भैहाल्छन्। तर, थारुले भने ९ पकटसम्म पैसा माग्दा पनि पठाइरहे।
सामाजिक सञ्जालको माध्यमबाट ठगिनेमा थारु एक्ला व्यक्ति भने होइनन्। इमो, भाईबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालहरु प्रयोग गरेर विदेशबाट नेपाली ठग्ने गिरोह सक्रिय छ।
महाशाखाका अनुसार अशिक्षित निम्नवर्गीय मानिसहरु मात्र यसरी ठगीमा परेका छैनन्। नेपाल सरकारको विशिष्ठ श्रेणीका कर्मचारीहरुसमेत लट्रीको प्रलोभनमा ठगिएका छन्।
कार्कीका अनुसार एक मन्त्रालयमा कार्यरत सहसचिव महिलाले पनि आफू लट्रीको नाममा ५५ हजार ठगिएको भन्दै महाशाखामा उजुरी दिएकी छन्।
‘सहसचिव जस्तो मान्छे त लट्रीको लोभमा ठगिएका छन् भने अरु सर्वसाधारण नठगिने त कुरै भएन’ कार्कीले भने, ‘पढेलेखेकै र त्यसमा पनि महिला बढी ठगीमा पर्ने गरेका छन्।’
लट्री परेको भनेर म्यासेज आउँदा एकपटक अरुसँग पनि सल्लाह गर्दा ठगिनबाट जोगिन सक्ने कार्कीले बताए।
ठगी गरेको अधिकांश रकम भारतमा पुग्ने गर्दछ। नेपालीहरु पक्राउ परे पनि ठगिएको रकम भने फेला पर्दैन। त्यसमा प्रयोग भएका नेपालीहरुले कमिसनमा काम गरिरहेको प्रहरीले जनाएको छ।
ठग्ने गिरोहले पछिल्लो समय लट्रीको नामका साथै बिभिन्न महंगा महंगा सामान सस्तोमा दिने नाममा पनि ठगी गरिरहेका छन्।
महाशाखाका अनुसार मोबाइल, गहनालगायतका सामग्री सस्तो मूल्यमा दिने भन्दै अनलाइनमा विज्ञापन गरेर पहिले नै रकम माग्ने गरेका थुप्रै उजुरी परेका छन्।
पछिल्लो समय अनलाइन ठगीमा पक्राउ परेका सात जनामध्ये रौतहटको गौर नगरपालिका–१ घर भइ काठमाडौं छाउनी बस्ने १९ वर्षीय आकाश अग्रवाल र १८ वर्षीय एस अग्रवाल, भारतीय नागरिक २२ वर्षीय एमडी सर्फराज, वीरगंज-१९ बस्ने ३० वर्षीय कृष्ण प्रसाद साह र सोही ठाउँका २० वर्षीय सुनिल साह छन्।
उनीहरुको नाममा ठगीमा परेका विभिन्न चार जनाले पैसा पठाएको प्रहरीले जनाएको छ।
यसरी देखाइन्छ प्रलाेभन (भिडियाे)
