काठमाडौं- कोरोना संक्रमणमुक्त भएर घर गएकाहरुलाई स्वागत गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
कोरोना संक्रमणमुक्त भइसकेर अस्पतालबाट समुदाय वा घरमा गइसकेपछि उक्त व्यक्तिलाई घृणा वा भेदभाव गर्ने गरेको पाइएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुलाई घर वा समुदायमा स्वागत गर्न आग्रह गरेका हुन्।
संक्रमणमुक्त भएकाहरुबाट कोरोना नसर्ने भन्दै उनीहरुलाई भेदभाव गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
त्यस्तै लकडाउन खुकुलो भएसँगै भीडभाड र जमघट पनि बढेको भन्दै त्यस्ता जमघटलाई कम गर्न मन्त्रालयले आग्रह गरेको छ।
मानिसहरुले आफ्ना साथी र आफन्तलाई कोरोना लाग्दैन भन्ने दृष्टिकोणले भेटघाटलाई सहज बनाएको भन्दै मन्त्रालयले आपत्ति जनाएको छ।
पछिल्लो समय चिया पसल र अन्य ठाउँमा भिडभाड बढेको भन्दै चिया पसलको भेटघाटलाई निरुत्साहित गर्न मन्त्रालयलको अपिल छ।
कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले तोकेको एसएमएस (सामाजिक दुरी, मास्क, स्यानिटाइजर) विधि कायम गर्न मन्त्रालयको अनुरोध छ।
