दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ ।
ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको जानकारी आए पनि अवस्था सामान्य रहेको बताए।
कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानीमा डुबानमा परेका केही घरका स्थानीयवासीलाई सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।
स्थानीयवासीलाई उद्धार गरी स्थानीय राधाकृष्ण मन्दिर परिसरमा व्यवस्थापन गरिएको भीमदत्तनगरपालिका कार्यालयले जनाएको छ ।
