प्रतिपक्षी दलहरुको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशसभाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक बजेट पारित गरेको छ ।
प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार उदासिन देखिएको भन्दै असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो ।
बुधबार भने सभामुख अर्जुनबहादुर थापाले नाराबाजीका बीच पनि संसदको कारबाही अघि बढाए । प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिपक्षी दलले कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुस्प्रभावलाई दृष्टिगत गर्दै तदनुरुपका कार्यक्रम ल्याउनुपर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमवासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनु पर्ने लगायतका माग गर्र्दैै संसदमा अवरोध गर्दै आएका छन् ।
प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।
