मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक अन्योलमा, कसरी होला दुई अध्यक्षबीच सहमति

नेकपा स्थायी कमिटी बैठक अन्योलमा, कसरी होला दुई अध्यक्षबीच सहमति

सत्तारुढ नेकपाभित्रको विवाद टुंगोमा पुर्‍याउन बुधबार पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल हुँदै छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- सत्तारुढ नेकपाभित्रको विवाद टुंगोमा पुर्‍याउन बुधबार पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुँदै छ। दुई अध्यक्षबीच साँझ बालुवाटारमा छलफल हुने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

सहमति जुटाउन भन्दै बुधबार तोकिएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ।

दुई अध्यक्षबीच सहमति नभई स्थायी कमिटीको बैठक बस्नुको कुनै औचित्य नभएको खबर आएको दाहाल निकट एक स्थायी समिति सदस्यले नेपाल समयलाई जानकारी दिए।

ती स्थायी कमिटी सदस्यले भने, ‘विवाद समाधान गर्न दिनहुँ अध्यक्षद्वयबीच छलफल भइरहेको छ। तर सहमति हुन सकेको छैन। यसले स्थायी कमिटी बैठक नै अन्योलमा बनाइदियो।’

हरेक छलफलमा दुई अध्यक्षबीच सहमति होला होला जस्तो भएको छ भन्ने जानकारी आए पनि सहमतिको टुंगो भने लाग्न कठिन भएको ती सदस्यले बताए। 

उनले भने, ‘ओलीले दुईमध्ये एक पद नछाडेसम्म सहमति कठिन छ। पद छाड्ने निश्चित नभएसम्म गरिने सहमति धेरै टिक्न सक्दैन।’

सरकार पार्टीको घाषणापत्र र नीतिअनुसार चल्न नसकेको, मनपरी निर्णय गर्ने गरेको, नेकपाकै कार्यकर्तालाई कसैलाई काखा कसैलाई पाखा गर्ने गरेको, पार्टी एकताका काम टुंगामा पुर्‍याउन आलटाल गरेको भन्दै अध्यक्ष दाहाल पक्षीय नेताहरू ओलीप्रति रुष्ट छन्।

राष्ट्रपतिलाई महाभियोग लगाउन, आफूलाई हटाउन दूतावास र होटलमा छलफल भइरहेको भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्तिले ओलीमाथि राजीनामा दिनैपर्ने दबाब परेको ती स्थायी कमिटी सदस्यको बुझाइ छ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटकपटक सर्दै आएको छ। स्थायी कमिटीको असार १२ र १३ गते बसेको बैठकमा सीमा विवादका विषयमा छलफल भएको थियो।

१२ गतेको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि बैठकमै उनको आलोचना भएको थियो। यसबीचमा मदन भण्डारी जयन्तीका अवसरमा प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन दूतावास र होटलमा छलफल भइरहेको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको निकै आलोचना भयो।

असार १६ गते बसेको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले एकै स्वरमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद तत्काल छाड्नुपर्ने माग गरेपछि बैठक मूल एजेन्डामा केन्द्रित हुन सकेको छैन।

सोही बैठकमा निर्वाचन आयोगमा एमाले नामक नयाँ दल दर्ता भएको र प्रधानमन्त्री ओलीले गोलमोटल अभिव्यक्ति दिएपछि उनीप्रति नेताहरू थप आक्रोशित बने।

१७ र १८ गते थोरै समयमात्र बसेको स्थायी कमिटी बैठक पनि प्रधानमन्त्री ओलीको राजीनामा मागमा केन्द्रित भयो। सोही बीचमा प्रधानमन्त्री ओलीले पार्टीलाई जानकारी नै नगराई संसद्को बर्खे अधिवेशन अन्त्य गरे।

त्यसपछि नेताहरू ओलीप्रति झन् सशंकित हुन थाले। मन्त्रीहरूसँगको परामर्शमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी एकताामा गम्भीर समस्या उत्पन्न भएको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद सतहमै छताछुल्ल भएको थियो।

प्रधानमन्त्री ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन र आफूलाई राजीनामा दिलाउन दबाब दिएको अभिव्यक्ति दिएपछि पार्टीमा तीव्र विरोध भयो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले त ट्विट गरेर राष्ट्रपतिमाथि महाभियोग लगाउने कुनै तयारी नभएको प्रस्ट पारे। राष्ट्रपतिलाई आश्वस्त तुल्याउन अध्यक्ष दाहालसहितका नेताहरू शीतल निवास पुग्नु परेको थियो।

विवाद बढ्दै गएपछि १९ गतेको बैठक रोकेर २० गतेका लागि तय गरियो। तर २० गते बैठक बस्न सकेन। २२ गतेका लागि तोकिएको बैठक पनि बस्दै नबसी २४ गतेका लागि तोकिएको छ। स्थायी कमिटी बैठक अब २६ गतेका लागि डाकिएको छ।

प्रकाशित: Jul 08, 2020| 14:20 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।