काठमाडौं- नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमण दर स्वाट्टै घटेको छ ।
दिनहुँ ५ सयदेखि ७ सयसम्म संक्रमित थपिने गरेकोमा पछिल्लो ४ दिनमा दैनिक ३ सय भन्दा कम व्यक्ति संक्रमित भएका छन् ।
मंगलबार २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने सोमबार १ सय ८०, आइतबार २ सय ९३ र शनिबार २ सय ३२ जना संक्रमित थपिएका छन् ।
मंगलबार ६ हजार १ सय ३३ जनामा परिक्षण गरिएको थियो भने सोमबार ४ हजार ७ सय, आइतबार ४ हजार ७ सय १० र शनिबार ४ हजार ५० जनामा कोरोना परिक्षण गरिएको थियो । परिक्षणदर नघटे पनि संक्रमितको संख्या भने घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर संक्रमितको संख्या घट्दै गएपनि काठमाडौं उपत्यका भने ह्वात्तै बढेको छ ।
मंगलबार २८ जनामा कोरोना पुष्टि भएको छ भने सोमबार एकै दिनमा उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए । आइतबार २७ जनामा संक्रमण पुष्टि भएको थियो ।
ताकी त्यसअघि काठमाडौंमा दैनिक ५/७ जनामात्रै संक्रमित थपिदै आएका थिए । पछिल्लो केहिदिन यता उपत्यकामा संक्रमण दर ह्वात्तै बढेसँगै समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ। तर, स्वास्थ्य मन्त्रालयले समुदाय स्तरमा संक्रमण नफैलिएको दाबी गरेको छ ।
छिट्फुट रुपमा संक्रमण देखिए पनि समुदायमा कोरोना नफैलिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए । विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको उनको उनको भनाइ छ।
विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको उनले जानकारी दिए। कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएको उनको भनाइ छ।
तर, विज्ञहरुले भने काठमाडौं उपत्यकामा समुदाय स्तरमा नै संक्रमण फैलिएको दाबी गरेका छन् । परिक्षण व्यापक नबनाए अझै फैलिन सक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ ।
अहिलेसम्म काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या २६६ पुगेको छ। जसमध्ये काठमाडौंमा १७४, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण देखिएको छ ।
